काठमाण्डु – भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले जेलबाट रिहा भएपछि प्रदेशवासीलाई सम्बोधन गर्दै राजीनामा नदिनुको कारण बताएका छन् ।
मदिरा घोटाला प्रकरणमा थुनामा परेर अदालतबाट अन्तरिम जमानत पाएका मुख्यमन्त्री केजरीवालले शनिबार हनुमान मन्दिर दर्शनपछि जनतालाई सम्बोधन गरेका छन् ।
उनले आफूमा मुख्यमन्त्री पदको लालच नभएको स्पष्ट पारे । उनले भने, ‘म यहाँ मुख्यमन्त्री, प्रधानमन्त्री बन्न आएको होइन । आयकर विभागमा कमिश्नरको जागिर गर्थें, त्यो छाडेर दिल्लीका झुगडीमा १० वर्ष काम गरें,’ उनले भने, ‘मेरो लागि मुख्यमन्त्रीको पद अहम होइन ।’ आफू पहिलोपल्ट मुख्यमन्त्री बन्दा ४९ दिनमै मुख्यमन्त्रीबाट राजीनामा दिएको उनले स्मरण गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले दिल्लीमा चुनावबाट हराउन नसक्ने देखेपछि जेलमा हालेर सरकार ढाल्न खोजेको उनले आरोप लगाए । ‘दिल्लीमा हामी भारी बहुमतले चुनाव जित्छौं, चुनावमा भाजपालाई हामीलाई हराउन सक्दैन । त्यसैले झूटा षड्यन्त्र रच्यो र मुख्यमन्त्रीलाई जेलमा हालेर राजीनामा दिनुपर्ला भन्ने सोच्यो,’ उनले भने, ‘मैले राजीनामा नदिएर भाजपाको षड्यन्त्रलाई सफल हुन दिइनँ । यदि जनतन्त्रलाई जेलमा कोच्यो भने जेलबाटै सरकार चलाएर देखाउँछौं, हामी षड्यन्त्रमा फस्ने छैनौं भन्ने देखायौं ।’
प्रतिक्रिया