मुख्यमन्त्री केजरीवाललाई १२ जुलाईसम्म न्यायिक हिरासतमा राख्न आदेश

मुख्यमन्त्री केजरीवाललाई १२ जुलाईसम्म न्यायिक हिरासतमा राख्न आदेश


काठमाण्डु – भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई दिल्लीको राउज एभिन्यू अदालतले १२ जुलाईसम्म न्यायिक हिरासतमा पठाएको छ ।

सीबीआईले रक्सी नीति सम्बन्धी कथित घोटालामा सोधपुछ गरेपछि केजरीवाललाई तिहाड जेलबाट पक्राउ गरेको थियो । राउज एभिन्यू अदालतका विशेष न्यायाधीश अमिताभ रावतले सीबीआईलाई उनलाई पक्राउ गर्न अनुमति दिएका थिए ।

पक्राउपछि सीबीआईले केजरीवालको रिमाण्ड अदालतसँग मागेको थियो । अदालतले सीबीआईलाई ३ दिन हिरासतमा पठाएको थियो । केजरीवालको सीबीआई रिमाण्ड शनिबार सकिएपछि अदालतले उनलाई न्यायिक हिरासतमा पठाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

केजरीवाललाई यसअघि २१ मार्चमा कथित रक्सी नीति घोटालासँग सम्बन्धित मनी लान्ड्रिङ मुद्दामा ईडीले गिरफ्तार गरेको थियो । राउज एभिन्यू अदालतले केजरीवाललाई २० जुनमा जमानत दिएको थियो ।

तर ईडीले ट्रायल कोर्टको निर्णयलाई दिल्ली उच्च अदालतमा चुनौती दिँदा उच्च अदालतले केजरीवालको जमानतमा रोक लगाएको थियो ।