आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न परराष्ट्रमन्त्री डा. देउवाको आग्रह

आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न परराष्ट्रमन्त्री डा. देउवाको आग्रह


काठमाण्डु – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखी यसको विस्तार एवं प्रवद्र्धन गर्न नेपालका नवनियुक्त राजदूत एवं निर्यात व्यवसायीहरूलाई आग्रह गरेकी छन् ।

नेपाल सरकारद्वारा हालै नियुक्त राजदूतहरू तथा नेपालका निर्यात व्यवसायीहरूसँग मंगलबार परराष्ट्र मन्त्रालयमा भएको अन्तर्क्रियामा उनले मुलुकको विकास र राष्ट्रिय समृद्धिको आकांक्षालाई परिपूर्ति गर्न परराष्ट्र मन्त्रालयले नीतिगत रूपमा नै आर्थिक कूटनीतिलाई समग्र कूटनीतिको प्राथमिकतामा राखेको जानकारी गराउँदै आर्थिक कूटनीतिको प्रवद्र्धनमा लाग्न आग्रह गरिन् ।

मन्त्री डा. राणाले भने, ‘विविध कारणले नेपाली अर्थतन्त्रले अपेक्षित गति लिन नसकिरहेको वर्तमान अवस्थामा विदेशस्थित सबै नेपाली मिसनहरूले आर्थिक, कूटनीति प्रवद्र्धन गर्नुपर्ने जरुरी देखिएको छ । आफू रहेका देशबाट नेपालमा लगानी आकर्षित गर्दै यहाँका सम्भावनाहरूलाई उजागर गरी निर्यात प्रवद्र्धनमा लाग्नुहोला ।’

उनले नियोगमार्फत हुने आर्थिक कूटनीतिका कार्यक्रमहरूलाई प्रभावकारी र परिणाममुखी बनाउन आग्रह गर्दै नियोगमा पर्याप्त स्रोतसाधन एवं जनशक्तिको समेत अभाव रहेकाले यसको वृद्धि गर्नेतर्फ आफू लाग्ने प्रतिबद्धता पनि व्यक्त गरिन् ।

मन्त्री डा. राणाले परराष्ट्र मन्त्रालयका लागि तत्कालै आवश्यक रहेको थप जनशक्ति परिपूर्ति गर्न हालै संगठन तथा व्यवस्थापन सर्भे गरिएको र थपिएको जनशक्तिले परराष्ट्र मन्त्रालय र नियोगको कार्यसम्पादनमा चुस्तता र प्रभावकारिता ल्याउने अपेक्षा गरिएको पनि बताइन् ।

नेपालका निर्यात व्यवसायी एवं उद्यमीहरूले आफ्ना उत्पादनहरूलाई विदेशी बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी ‘प्याकेजिङ’ गर्नुपर्ने उनको सुझाव थियो । मन्त्री डा. राणाले विदेशी बजारमा नेपाली उत्पादनको विशिष्ट पहिचान रहेकाले माग पनि हुने गरेको भन्दै स्तरीय प्याकेजिङसहित निर्यात गर्न सुझाव दिइन् ।

मन्त्री डा. राणाले आफ्ना उत्पादनको निर्यातका क्रममा कुनै समस्या भएमा नेपाली मिसनहरूका साथै परराष्ट्र मन्त्रालयसँग समन्वय गर्न निर्यातकर्ताहरूलाई आग्रह गरेकी थिइन् ।