काठमाण्डु – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शुक्रबार बेल्जियमका विदेशमन्त्री बर्नार्ड क्विन्टिनसँग ब्रसेल्समा भेटवार्ता गरेकी छन् ।
युरोपेली मामिला एवं वैदेशिक व्यापारमन्त्री समेत रहेका बर्नार्डसँगको भेटका क्रममा उनीहरूबीच नेपाल–बेल्जियम सम्बन्ध, आपसी हित र आगामी दिनमा गर्न सकिने सहकार्य लगायतका विषयमा कुराकानी भएको थियो ।
भेटका क्रममा मन्त्री डा. देउवाले नेपाल आगामी सन् २०२६ बाट अतिकम विकसितबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति हुन लागेको जानकारी गराउँदै स्तरोन्नति प्रक्रियालाई सहज र दीगो बनाउन तथा नेपाललाई आर्थिक, प्राविधिक लगायतको सहयोगका लागि बेल्जियमसँग आग्रह गरेकी थिइन् ।
भेटका क्रममा नेपाल र बेल्जियमबीचको आर्थिक सम्बन्धलाई आगामी दिनमा थप सुदृढ बनाउने र विशेषगरी प्राथमिकता प्राप्त क्षेत्रहरूमा लगानीमार्फत आर्थिक साझेदारीलाई थप विस्तृत बनाउने विषयमा पनि कुुराकानी भएको थियो ।
नेपालको सामाजिक आर्थिक रूपान्तरणका लागि युरोपियन युनियनमार्फत् तथा बेल्जियम सरकार स्वयंले पुर्याउँदै आएको सहयोगका लागि बेल्जियम सरकारलाई मन्त्री डा. देउवाले धन्यवाद ज्ञापन गरेकी थिइन् ।
भेटका क्रममा परराष्ट्रमन्त्री डा. देउवाले आफूले केही दिनअघि हेगस्थित अन्तर्राष्ट्रिय अदालत (आईसीजे) मा जलवायु परिवर्तनका कारण नेपाललाई परेको असरका बारेमा प्रस्तुत गर्दै जलवायु न्यायका बारेमा कुरा उठाएको जानकारी पनि उनलाई गराएकी थिइन् ।
जलवायु परिवर्तनका कारण पछिल्ला वर्षहरूमा नेपालले अकल्पनीय क्षति व्यहोर्नुपरिरहेको जानकारी गराउँदै नेपालले पाउनुपर्ने जलवायु न्यायका पक्षमा सहयोग गर्न बेल्जियम सरकार र बेल्जियममार्फत् युरोपियन युनियनसँग उनले आग्रह पनि गरिन् ।
वार्तामा मन्त्री डा. देउवाले नेपाल आन्तरिक रूपमा शान्ति प्रक्रिया टुंग्याउने अन्तिम चरणमा पुगेको र यसका लागि आवश्यक नियम–कानूनहरू निर्माण भएका जानकारी पनि गराइन् ।
उनले विदेशमन्त्री बर्नार्डसँग संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को अस्थायी सदस्य र मानवअधिकार आयोगको सदस्यमा नेपालले उम्मेदवारी दिन लागेकाले त्यसमा नेपालले बेल्जियम सरकारको सहयोगको अपेक्षा गरेको पनि बताएकी थिइन् ।
प्रतिक्रिया