परराष्ट्रमन्त्री डा. राणा क्यानाडा प्रस्थान

परराष्ट्रमन्त्री डा. राणा क्यानाडा प्रस्थान


काठमाण्डु – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा सोमबार साँझ क्यानाडा प्रस्थान गरेकी छन् ।

क्यानाडाको टोरन्टोमा सेप्टेम्बर १९ र २० मा आयोजना गरिएको महिला परराष्ट्र मन्त्रीहरूको बैठकमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साल र मन्त्रालयका वरिष्ठ अधिकारीहरूले बिदाइ गरे । क्यानाडा र जमैकाद्वारा आयोजित बैठकमा विश्वका १५ भन्दा बढी देशका महिला परराष्ट्रमन्त्री सहभागी हुने कार्यक्रम छ ।

सम्मेलनमा परराष्ट्रमन्त्री डा. राणाले राजनीति, नेतृत्व र शासन सत्ता लगायतका सार्वजनिक पदहरूमा महिलाको उपस्थिति र चुनौती विषयमा सम्बोधन गर्ने कार्यक्रम छ ।

बैठकपछि मन्त्री डा. राणा अमेरिका प्रस्थान गर्नेछिन् । उनी अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सेप्टेम्बर २१ मा नेपाली प्रतिनिधिमण्डलमा सहभागी हुनेछिन् । महासभामा प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी हुँदैछ ।

अमेरिकामा रहँदा मन्त्री डा. राणाले विभिन्न फोरमहरूलाई सम्बोधन गर्ने र द्विपक्षीय भेटवार्तामा सहभागी हुनेछिन् ।

मन्त्री डा. राणा अमेरिकाबाट कतारको दोहा प्रस्थान गर्नेछिन् । उनी दोहामा आगामी अक्टोबर २ र ३ मा आयोजित एसिया को–अपरेसन डायलगको तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी सहभागी हुने कार्यक्रम छ ।

सम्मेलनलाई परराष्ट्रमन्त्री डा. राणाले सम्बोधन गर्नेछिन् । मन्त्री राणा आगामी ४ अक्टोबरमा स्वदेश फर्किनेछिन् ।