काठमाण्डु – परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा १३ मंसिरमा चीन भ्रमणमा जाने निश्चित भएको छ । मन्त्री डा. राणाको स्वास्थ्य परीक्षणका लागि जापान जाने कार्यक्रम भने डाक्टरको समय नमिलेकाले तत्कालका लागि रद्द भएको प्रेस संयोजक एकराज पाठकले काठमाण्डुपाटीलाई जानकारी दिए ।
‘‘उहाँ स्वास्थ्य परीक्षणका लागि जापान जाने कार्यक्रम चिकित्सकको समय उपलब्ध नभएकाले नजाने हुनुभयो,’ प्रेस संयोजक पाठकले भने ।
अब मन्त्री राणा प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको तयारीका लागि २८ नोभेम्बर (१३ मंसिर) मा चीन जाने कार्यक्रम तय भएको हो । यसअघि मन्त्री राणाको आजै जापान प्रस्थान गर्ने कार्यतालिका तय भएको थियो।
काठमाडौँबाट आज जापान प्रस्थान गर्ने र त्यहाँबाट १४ मंसिरमा चीन पुग्ने मन्त्री राणाको कार्यक्रम थियो।
१४ मंसिरमा मन्त्री राणाले चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन् ।
चीनले प्रधानमन्त्री ओलीको भ्रमणका लागि १७–२१ मंसिरको मिति प्रस्ताव गरेको छ। तर, मन्त्रिपरिषद्ले भ्रमण मिति निक्र्यौल गरेको छैन ।
प्रतिक्रिया