परराष्ट्रमन्त्री डा. राणाद्वारा अमेरिकी पूर्वराष्ट्रपति कार्टरप्रति श्रद्धाञ्जली

परराष्ट्रमन्त्री डा. राणाद्वारा अमेरिकी पूर्वराष्ट्रपति कार्टरप्रति श्रद्धाञ्जली


काठमाण्डु- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधनप्रति दुःख व्यक्त गरेकी छिन् ।

मन्त्री डा. राणा शुक्रबार काठमाडौँस्थित अमेरिकी राजदूतावासमा पुगी अमेरिकी पूर्वराष्ट्रपति एवम् नोबेल शान्ति पुरस्कार विजेता कार्टरको स्मृतिमा त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै नेपाली जनता, नेपाल सरकार र आफ्ना तर्फबाट उनीप्रति श्रद्धाञ्जली अर्पण गरिन् ।

पूर्वराष्ट्रपति एवं कार्टर सेन्टरका संस्थापक जिम्मी कार्टरको एक सय वर्षको उमेरमा डिसेम्बर २९ मा निधन भएको थियो । मन्त्री डा. राणाले शोक पुस्तिकामा पूर्वराष्ट्रपति कार्टर एक प्रजातन्त्रवादी नेता तथा नेपालका सच्चा मित्र भएको उल्लेख गरिन् ।

‘पूर्व राष्ट्रपति कार्टर, परोपकार, शान्ति तथा प्रजातन्त्रका क्षेत्रमा एक उदाहरणीय व्यक्तित्व हुनुहुन्थ्यो । अमेरिकाको राष्ट्रपतिका साथै कार्टर सेन्टरको संस्थापकका रूपमा रहेर उहाँले मानवअधिकार तथा प्रजातान्त्रिक मूल्य मान्यताका पक्षमा निर्वाह गर्नुभएको भूमिकाको सर्वत्र प्रशंसा हुने गर्दछ’, शोक पुस्तिकमा मन्त्री राणाले लेखेकी छन् ।