परराष्ट्रमन्त्री राणा भारत प्रस्थान

परराष्ट्रमन्त्री राणा भारत प्रस्थान


काठमाण्डु-परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा भारत प्रस्थान गरेकी छन् । भारतीय विदेशमन्त्री एस जयशंकरको औपचारिक निमन्त्रणामा मन्त्री राणा आज भारत प्रस्थान गरेकी हुन् ।

उनी भिस्तारा एयरलाइन्सबाट भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेकी हुन् ।

मन्त्री राणाको टोलीमा दक्षिण एसिया मामिला हेर्ने सह–सचिव भृगु ढुंगानालगायत अधिकारीहरू छन् । मन्त्री राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साल, सह–सचिव अमृत राईलगायत परराष्ट्रका वरिष्ठ अधिकारीहरूले विदाइ गरेका थिए ।

भारत भ्रमणका क्रममा उनले भारतीय विदेशमन्त्री जयशंकरसँग द्विपक्षीय वार्ता गर्ने छिन् । दुई देशबीचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग मन्त्री राणाको भेटघाट हुने वा नहुने निश्चित भइसकेको छैन ।

परराष्ट्र मन्त्रीको भ्रमण नेपाल र भारतबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्पराअनुसार भएको परराष्ट्र मन्त्रालयले जनाइएको छ । परराष्ट्रमन्त्री राणा ६ गते स्वदेश फर्किनेछिन् ।