असार १५ लाई नेपाली कृषि क्रान्तिको क्षेत्रामा महत्वपूर्ण दिनको रूपमा लिइन्छ । यो दिन परापूर्वकालदेखि नै दही–चिउरा खाने र मानो रोपेर मुरी फलाउने दिनको सुरूवातको रूपमा पनि लिइन्छ ।
यसदिनलाई विगत २० वर्षदेखि धान दिवसको रूपमा पनि मनाउने गरिएको छ । यस वर्ष ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ राष्ट्रिय धान दिवस मनाउने सरकारले निर्णय गरेको छ ।
किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले देशैभर असार १५ गते राष्ट्रिय धान दिवसको रूपमा मनाउने परम्परा बसालेको हो । यस दिनलाई रोपार्इँ महोत्सवका रूपमा समेत मनाउने गरिन्छ । त्यसैले हरेक वर्ष विभिन्न नाराका साथ विविध कार्यक्रम गरि धान दिवस मनाइन्छ ।
सन् २००४ मा संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय धान दिवस मनाउने प्रस्ताव पारित गरेपछि विश्वभर धान दिवस मनाउने प्रचलन चलेको हो । नेपाल पनि कृषि प्रधान देश भएको र खाद्य सुरक्षाको प्रमुख आधारको रूपमा रहेको धानको उत्पादनलाई महत्व दिंदै हरेक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवसको रूपमा मनाउँदै आएको हो ।
सरकारी तथ्याङ्क अनुसार देशको झण्डै १४ लाख हेक्टर जमिनमा हरेक वर्ष धान खेती हुँदै आएको छ । सरकारले असार १५ लाई धान दिवसका रूपमा मनाउँदै आए पनि आधुनिक प्रविधि र सीप आम किसान माझ अझ पुग्न नसकेका कारण खेती योग्य जमिन भएर पनि धान उत्पादनमा वृद्वि हुन नसकेको छैन ।
नेपाली संस्कृतिअनुसार असार १५ मा दहि चिउरा खाने प्रचलन पनि छ । खेतमा रोपाईँ गरी दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रूपमा पनि लिने गरेको पाइन्छ ।
वर्षा याममा हिलाम्य भएको शरीरमा दही खाँदा ऊर्जा दिने भएकाले दही चिउरा खाने चलन रहदै आएको छ । यो दिन अधिकांश नेपालीले दही चिउरा खान्छन् । दहीको महत्व मानव जीवनमा धेरै छ । यो दिन अरू दिनको तुलनामा धेरै दही खपत हुन्छ र यसका लागि डेरी व्यवसायीहरूले एक हप्ता अघिबाट दहीको जोहो गरेर राख्छन् । दहप् नपाइएला भनेर ग्राहकहरू अघिल्लो दिनदेखि नै दही खर्छन् । यस दिन बेलुकापख डेरी पसलहरूमा दही नपुग हुन्छ ।
यस दिन मानिसहरू दही, चिउरामा केरा र आँप पनि मिसाएर खाने गर्छन् । गाउँघरमा पनि सबैले घर घरमा आफैँले दही जमाएर खान्छन् । शहरी क्षेत्रमा कसै कसैले आफैं जमाए पनि धेरै जसोले भने किनेरै खाने चलन छ । आजभोलि यस दिनमा राष्ट्रियस्तरका कार्यक्रमहरू पनि भइरहेकाले यसको महत्व बढेको छ ।
पोखरामा प्रत्येक वर्ष पर्यटकका लागि ‘रोपाईँ महोत्सव’ विगत १७ वर्षदेखि मानाइँदै आइएको छ । यसले गर्दा आन्तरिक र बाह्य पर्यटकहरूको संख्यामा वृद्धि भएको छ ।
पहिले पहिले बाजा बजाएर नाचगान गर्दै रोपाईं गर्ने चलन थियो । त्यस्तो चलनलाई बेठी लगाउने भनिन्थ्यो । त्यस्तो चलन धेरै खेती हुने जमिन्दारहरूकोमा हुने गर्दथ्यो । तर आजभोलि यो चलन हट्दै गएको छ । अब यस्ता चलनले निरन्तरता नपाउने हो भने हाम्रो परम्परा लोप हुँदै जान्छ । अब हामीले यसलाई देखावटी मात्र नभई उपलब्धिमूलक बनाउन सक्नुपर्छ ।
हामीले कति पटक धान दिवस मनाइयो भन्ने कुरा ठूलो वा महत्वपूर्ण नहुन सक्छ । तर उपलब्धि के भयो भन्ने कुराले ठूलो महत्व राख्छ । देशमा सबैभन्दा धेरै उत्पादन हुने खाद्यान्न भनेकै धान हो । तर अहिले हामी यत्रो सम्भावना बोकेको क्षेत्र भएर पनि धान आयात गर्दैछौं । यो दुःखद पक्ष हो । अब यस्ता दिवस मनाउनका लागि मात्र नभएर परिणाममुखी हुनुपर्छ । दैनिक सयौं युवा विदेशीने अनि हामी देखावटी यस्ता कार्यक्रम गरिरहनुमा कुनै अर्थ हुँदैन । अब विदेशिएका युवाहरूलाई स्वदेशमा कसरी आकर्षित गर्ने र विदेश जान कसरी रोक्ने भन्ने कोणबाट पनि विचार गर्नुपर्छ ।
कृषि क्षेत्रको महत्वपूर्ण क्षेत्र मध्ये दुग्ध क्षेत्र एक महत्वपूर्ण क्षेत्र हो । अहिले हामी करिब ८० प्रतिशत माग स्वदेशी उत्पादनले धान्न सक्ने भएका छौं । यस्तो अवस्थामा अब कसरी आधुनिकतामा जाने र अन्तर्राष्ट्रिय बजारसँग कसरी प्रतिस्पर्धा गर्ने भन्ने तिर लाग्न आवश्यक भइसकेको छ । त्यसैले नेपाल कृषि प्रधान देश हो भन्ने नारालाई बचाउनुपर्छ । कृषि क्षेत्रको विकास नभइ अरू कुनै पनि क्षेत्रको विकासले देशलाई समृद्ध बनाउन सक्दैन भन्ने कुरालाई पनि मनन गर्नुपर्छ । त्यसैले हामी जसरी भए पनि कृषिका उपजहरू आयात रोकी अब निर्याततर्फ लाग्न ढिला भइसकेको छ ।
लेखक नेपाल डेरी एसोसिएसनका अध्यक्ष हुन् ।
प्रतिक्रिया