श्रीमानसँगको झगडाको निहुँले अस्मिताले मारिन् २ नाबालिका छोरी

श्रीमानसँगको झगडाको निहुँले अस्मिताले मारिन् २ नाबालिका छोरी



काठमाण्डु– मोरङको सुन्दरहरैँचामा २ नाबालिका छोरीको ‘हत्या’गरि बेपत्ता भएकी महिला पक्राउ परेकी छिन् । 

धनकुटा पाख्रिबास स्थायी घर भई मोरङको सुन्दरहरैँचा नगरपालिका–७ निवासी अर्जुन कार्कीकी २९ वर्षीया पत्नी अस्मिता पौडेल (कार्की)लाई  प्रहरीले झापाबाट पक्राउ गरेको हो । 

भदौ १५ गते साँझ अर्जुन र अस्मिताका दुई छोरी (१ वर्षीया अर्पणा र ३ वर्षीया आयिङ्का) को शव  घरनजिकै केराघारीमा फेला परेको थियो। 

पतिसँगको घर झगडामा विष खुवाएर अस्मिताले नै छोरीहरूको हत्या गरेको आशका प्रहरी र स्थानीयले गरेका थिए । 

प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि अस्मिताले नै छोरीहरुको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिए । 

श्रीमान संग निर्माणाधीन घरमा पानी लगाउने विषयमा वादविवाद भएपछि  उनले २ वटी छोरीहरू साथमा लिएर हिँडेकी थिइन् । 

उनले बयानमा सोही दिन बेलुकी छोरीहरूलाई विष खुवाएर केरा बगानमा राखी थोरै बाँकी रहेको विषादी आफूले पनि खाएर ‘त्यो ठाउँबाट म हिँडेकी हुँ’ भनी बताएकी छिन् । 

बारम्बार श्रीमान श्रीमतीविच घरायसी कुरामा वाद विवाद हुने गरेको भन्ने खुल्न आएको उपरीक्षक बस्नेतले बताए।

उनलाई मोरङ जिल्ला अदालतबाट ४ दिनको म्याद थप  गरी अनुसन्धान  अगाडि बढाइएको प्रहरीले जनाएको छ ।