काठमाण्डु– प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय सुरक्षाको प्रमुख उद्देश्य राज्यशक्तिका संयन्त्रहरुको समन्वयात्मक उपयोगबाट राष्ट्रहित प्रवद्र्धन गर्नु रहेको बताएका छन् ।
आइतबारदेखि सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा सुरु भएको दशौँ समूहको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम उद्घाटन समारोहमा बोल्दै उनले त्यसका लागि सुरक्षाका नवीनतम अवधारणाबारे जानकार रहनु अतिआवश्यक भएको बताएका हुन् ।
उनले भने, “राष्ट्रिय सुरक्षाको अवधारणा समयक्रमसँगै परिमार्जन र परिस्कृत हुँदै बहुआयामको सुरक्षा वातावरणको विकास भइरहेको छ । त्यसका लागि राष्ट्रिय सुरक्षाको आधार, क्षेत्र, अभ्यास र विषयवस्तुका सवालमा सबै सरोकारवालाबीच साझा सोच आवश्यक छ ।”
राजनीतिक, आर्थिक, सामाजिकलगायत समग्र मानवीय र वातावरणीय सुरक्षा चिन्तालाई सुरक्षा अवधारणाले समेटेको बताउँदै उनले मुलुक सुहाँउदो सुरक्षा र प्रतिरक्षा नीति तर्जुमा गर्न उच्चस्तरीय तालिमका अवसरमा हुने स्वतन्त्र, निष्पक्ष बहस, अनुसन्धान र विश्लेषण फलदायी हुनसक्ने धारणा राखे ।
सहभागीहरुबीच साझा अवधारणा विकास, आपसी सहयोग र समन्वयका क्षेत्रहरु पहिचान हुने विश्वास व्यक्त गर्दै प्रधानसेनापति सिग्देलले विभिन्न निकायबाट हुने सुरक्षासम्बन्धी नीति निर्माण, निर्णय र त्यसको कार्यान्वयन सहजता हुने बताए ।
नीति निर्माण तहमा काम गर्ने राष्ट्रसेवकका लागि राष्ट्रियहित र राष्ट्रिय सुरक्षाका विभिन्न विषयमा गहिरो बुझाइको आवश्यकता महसुस भई विसं २०७२ देखि सुरु गरिएको तालिम हालसम्म २२२ जनाले पूरा गरिसकेका छन् ।
तालिममा राष्ट्रिय सुरक्षाका आधारभूत विषय, राष्ट्रिय सुरक्षाको अवधारणा र गतिशीलता, राष्ट्रिय सुरक्षालाई गम्भीर रूपमा असर पार्ने आन्तरिक तथा बाह्य तत्वलगायत क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सुरक्षा वातावरणमा आएको परिवर्तन र बदलिँदो भूराजनीतिक सम्बन्धहरू र त्यसले नेपालजस्ता साना राष्ट्रलाई पार्ने प्रभावलगायतका विषयमा ज्ञान दिइने पाठ्यक्रममा उल्लेख छ ।
प्रतिक्रिया