सिग्देल आजदेखि सेनाको कमान्ड सम्हाल्दै

सिग्देल आजदेखि सेनाको कमान्ड सम्हाल्दै


काठमाण्डु-नेपाली सेनाको ४५ औं प्रधानसेनाति अशोकराज सिग्देलले आजबाट कमान्ड सम्हाल्दै छन् ।

प्रधानसेनापति प्रभुराम शर्मा आजदेखि अवकासमा जाँदैछन् । सैनिक सेवामा ४१ वर्ष बिताएका शर्मा गत साउन २४ गतेदेखि बिदामा बसेका थिए ।

शर्मा बिदामा बसेपछि राष्ट्रपति रामचन्द्र पौडेलले भदौ १२ गते सिग्देललाई प्रधानसेनापतिमा नियुक्त गरेका थिए । भदौ २४ गतेबाट लागू हुनेगरी राष्ट्रपति पौडेलले सिग्देललाई नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त गरेका थिए ।

राष्ट्रपति पौडेलबाट दज्र्यानी चिन्ह प्राप्त गरेर सिग्देलले आजदेखि नै प्रधानसेनापतिको कमान्ड सम्हाल्दै छन् ।

सिग्देलले स्वदेश तथा विदेशबाट व्यावसायिक सैन्य शिक्षा हासिल गरेका छन् । आर्मी कमान्ड एन्ड स्टाफ कलेज शिवपुरी र चीनको नेसनल डिफेन्स युनिभर्सिटीबाट स्नातक उनले आर्मी वार कलेजमा हायर कमान्ड एन्ड म्यानेजमेन्ट कोर्स र भारतबाट डिफेन्स म्यानेजमेन्ट कोर्स पूरा गरेका छन् ।

राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका विभिन्न कार्यशाला र व्यावसायिक सेमिनारमा पनि भाग लिएका बलाधिकृत रथी सिग्देलले त्रिभुवन विश्वविद्यालय र चीनको राष्ट्रिय रक्षा विश्वविद्यालयबाट रणनीतिक अध्ययनमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् ।

३८ वर्षको सैन्य जीवनमा उनीसँग काउन्टर इन्सर्जेन्सी र जङ्गल वारफेयर स्कूलको कमान्डेन्ट, इन्फन्ट्री ब्रिगेड र डिभिजनको कमान्ड गरेको अनुभव छ ।

उनले सन् २०२२ मा अमेरिका–नेपाल तेस्रो ल्यान्ड फोर्स वार्ताका लागि नेपाली सेनाको प्रतिनिधिमण्डलको पनि नेतृत्व गरेका थिए ।

कोरोना महामारीका समयमा कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) को सचिवका रूपमा पनि उनले काम गरेका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रणनीतिक महत्वका घटनालाई नजिकबाट चासो साथ हेर्ने रथी सिग्देल सङ्गठनभित्र अध्ययनशील र सकल दर्जाका कुरा सुन्ने व्यक्तित्वका रुपमा परिचय बनाएका छन् । उनले सैनिक सङ्गठनभित्र युद्धकार्य, सम्भार विभाग, नीति महानिर्देशक र उपत्यका पृतनाजस्ता महत्वपूर्ण जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरिसकेका छन् ।