नेपाल हङकङसँग पराजित

नेपाल हङकङसँग पराजित


काठमाडौं – एसिया कप खेल्ने नेपालको सपना चकनाचुर भएको छ । एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगितामा हङकङसँग ४३ रनले पराजित भएसँगै नेपालको एसिया कप छनोट खेल्ने सपना चकनाचुर भएको हो ।

नेपालले पहिलो खेल शनिबार मलेसियासँग २२ रनले गुमाएको थियो आज हङकङसँग ४३ रनले पराजित भएको हो ।
५ टोली सहभागी यस प्रतियोगिताका शीर्ष दुई टोलीले आगामी अगष्टमा हुने एसिया कपको छनोट खेल्नेछन् । दुई खेल खेलिसक्दा नेपाल अंक तालिकाको चौथो स्थानमा पुगेको छ ।

सिंगापुर, मलेसिया र थाइल्याण्ड शीर्ष तीन स्थानमा छन् ।  हङकङले दिएको १ सय ५५ रनको लक्ष्य पछ्याएको नेपाल १८.१ ओभरमा सबै विकेट गुमाएर १ सय ११ रनमा समेटियो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ४६ रनको योगदान गरेपनि जित दिलाउन सकेन । ज्ञानेन्द्रले ४३ बलमा ४ चौका र एक छक्का प्रहार गरे । यस्तै कुशल मल्लले १९, अविनाश बोहराले १२ र आरिफ सेखले १० बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

त्यसबाहेक पूर्वकप्तान पारस खड्का ४, दीपेन्द्रसिंह ऐरी ५, पवन सर्राफ १, विनोद भण्डारीले ५ र करण केसीले ७ रन जोडे ।