आमा गुमाएकी १७ दिने नावालिकालाई सिन्धुली ट्रष्टका अध्यक्षको सहयोग

आमा गुमाएकी १७ दिने नावालिकालाई सिन्धुली ट्रष्टका अध्यक्षको सहयोग


काठमाडौं – जन्मेको दुईघण्टामै १७ दिनअघि आमा गुमाएकी सिन्धुली फिक्कल गाउँपालिका २ रातमाटेकी एक नावालिका (शिशु)लाई विहीवार सिन्धुली ट्रष्टका अध्यक्ष उज्जल विक्रम थापाले दूध, न्यानो कपडासहितको सहयोग हस्तान्तरण गरेका छन् ।

विहीवार विहान सामग्रीसहित रातमाटे पुगेका अध्यक्ष थापाले गाउँका स्थानीय वासिन्दाको उपस्थितिमा करिब ६० हजार रुपियाँ बराबरको सहयोग हस्तान्तरण गरे । थापाकै उपस्थितिमा नावालिकाको नाम रञ्जिता राखिएको छ ।

स्थानीय रणबहादुर न्यौपानेकी श्रीमती २० बर्षीय रमिला बुढाथोकीको १७ दिनअघि बच्चा जन्मेको दुई घण्टापछि मृत्यु भएको थियो । घरमै सुत्केरी गराउँदा अत्यधिक रक्तश्रावका कारण बुढाथोकीको ज्यान गएको थियो । आमाको मृत्युपछि नावालिकालाई हजुरआमाले सम्हालेकी छन् । यस्तो खबर सुनेलगत्तै ट्रष्टका तर्फबाट २५ हजार रुपियाँ दिने घोषणा गरेको र दाताहरुको थप सहयोगमा नावालिकाका लागि पाउडर दूध, न्यानोकपडा, झोलुंगोको व्यवस्था गरेर आफू गाउँ पुगेको अध्यक्ष थापाले बताए ।

४८ बट्टा दूध, १५ जोर कपडा, टोपी, मोजा, ओछ्यौना, ४ थान कम्बल, एकथान सिरक, दुईथान झोलुंगो, १२ थान दूध खुवाउने बोतलसहितका सामग्री काठमाडौंबाट लिएर थापा त्यहाँ पुगेका थिए । उनका अनुसार वितरण भएका सामग्री करिब ६० हजार रुपियाँ बराबरका हुन् ।
‘परिवार क्रियाकर्मतिर लागेका कारण ती नावालिकाको न्वारान पनि भएको रहेनछ, म पुगेपछि उनको नामाकरण पनि भयो, रञ्जिता नाम राखियो’ अध्यक्ष थापाले भने, ‘स्थानीय महिलाहरुलाई साक्षी राखेर मैले सामग्री हस्तान्तरण गरेको छु । सबैले सामूहिक आमा बन्ने, नावालिकाको संरक्षण गर्ने बचन दिएका छन् ।

नावालिकाका लागि थप दूधको व्यवस्था गर्ने भनेको छु ।’ थापाले नावालिका रञ्जिताको सामूहिक आमा बन्न स्वीकार गरेका १० जना स्थानीय महिलालाई एक-एक साडी तीजको उपहार प्रदान गरेका छन् । अध्यक्ष थापाले भने, ‘ बुबा रणबहादुर न्यौपाने, हजुरबुआ, हजुरआमा, ठूलीआमालगायत सम्पूर्ण टोलका छोरीका रुपमा रञ्जिता हुर्केको देख्दा आनन्द लाग्यो । जन्म हुँदा आमा गुमाएकी रञ्जिता अलक्षिनी नभएको सामाजिक सन्देशसहितको छलफलमा सम्पूर्ण गाउँवासि र परिवारजनले मृत्युको कारण विकट नेपालको स्वास्थ्य सेवा अभाव भएको निस्कर्ष निकालेका छन् । यो राम्रो हो ।’