देउखुरी – दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आईतबार अट्वारी पर्व धुमधामका साथ मनाउने तयारी गरेका छन् ।
भाद्र शुक्ल पक्षको पहिलो आईतबार अर्थात् श्रीकृष्ण जन्माष्टमीपछिको दोस्रो आईतबारलाई अट्वारी पर्वका रूपमा मनाउने चलन छ ।
हरितालिका तीजपछिको शनिबार मध्यरातमा दर (भिन्सर्या) खाएर अट्वारी व्रतको तयारी सुरु हुन्छ ।
महेन्द्र बहुमुखी क्याम्पस दाङका उपप्राध्यापक कुलवीर चौधरीले द्वापरयुगमा ५ पाण्डवमध्येका माहिला भाइ भीमले थारू समुदायका १ जना छोरीलाई उनीमाथि भइरहेको अत्याचारबाट मुक्त गरेको स्मरणमा आईतबार दिनभरि भीमका नाममा व्रत बस्ने र पूजाआजा गर्ने चलन रहेको बताए । उनका अनुसार अट्वारी पर्व थारू समुदायको दशैंपछिको ठूलो चाड भएकाले यसको महत्त्व धेरै रहेको छ ।
‘चेलिबेटीको सम्मान गर्ने, सूर्य उपासनासँग जोडिएका भगवानहरूको पूजा र शक्तिशाली बलवान भीमको पूजा गर्ने चलन छ,’ उनले भने ।
अट्वारी पर्वमा दाजुभाइ दिदीबहिनीको रक्षाको कामना गर्दै दिनभर निर्जल, निराहर व्रत बस्ने गर्दछन् । व्रत बसेका व्रतालुले फलफूल लगायत परिकार आफूले खानुपूर्व आफ्नो खानाबाट आधा भाग झिकेर अलग्ग राख्ने प्रचलन रहेको घोराही उपमहानगरपालिका–६ का अगुवा भीमबहादुर चौधरी बताउँछन् । छोरीचेलीलाई सम्मान गर्ने पर्व हो । त्यसरी छुट्याइएको परिकार विवाहित छोरीचेलीलाई कोसेलीका रूपमा उपहार दिने गरिन्छ । त्यो कोसेलीलाई ‘अग्रासन’ दिने भनिन्छ । अट्वारीको दोस्रो दिन बिहान पतौला खरिया, भात, गब्दा, खुर्मा, फुलौरी र तामासहितका तरकारी र सात प्रकारका विभिन्न परिकार तयार गरी व्रतालुहरूले नुहाइधुवाइ पूजापाठ गर्ने गर्छन् । दर खाएको बिहान सबैजना रोटीका विभिन्न परिकार बनाउँछन् ।
सबै परिकार पकाएर तयार बनाएपछि व्रतालुहरू मध्याह्न नदी, तलाउ, जलाशयमा स्नान गर्छन् । व्रतालुहरू स्नान गर्न गएको बेला घरमा गोबरपानीले लिपपोत गरी शुद्ध पारिन्छ । बस्नलाई काठको शुद्ध मुढा राखिन्छ । व्रतालुहरू स्नान गरेर फर्केपछि त्यही चोखो ठाउँमा बस्छन् । महिलाले खानेकुरा दिन्छन् ।
व्रतालु पुरुषले खानेकुराको पूजा गरेपछि मात्र खान्छन् । जसरी भीमले बहिनीका लागि परिकार सम्झेर छुट्याएका थिए । त्यसरी नै व्रतालु थारूले एक भाग दिदीबहिनीका नाममा छुट्याएर अर्को भाग परिकार खान्छन् । परिकार खानुअगाडि भीमको स्मरणमा पूजा गर्छन् । सो दिनको परिकारमा नून मिसाइएको हुँदैन ।
थारू कल्याणकारीणी सभा दाङका पूर्व अध्यक्ष भुवन चौधरीले दाजुभाइ र दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै अटवारी पर्व मनाइने बताए । ‘दिदीबहिनी र दाजुभाइ बीचमा माया, ममता, सद्भाव र भ्रातृत्व जगाउने पर्वका रूपमा अट्वारीलाई लिइन्छ,’ चौधरीले भने ।
अट्वारीका अवसरमा आईतबार लुम्बिनी प्रदेश सरकारले दाङ, बाँके र बर्दिया जिल्लामा बिदा दिएको छ ।
प्रतिक्रिया