अष्ट्रेलियामा डढेलो निभाउने विमान दुर्घटना

अष्ट्रेलियामा डढेलो निभाउने विमान दुर्घटना


एजेन्सी । अष्ट्रेलियामा डढेलो निभाउने विमान दुर्घटना भएको छ । विमान एक टापुमा जलिरहेको अवस्थामा फेला परेको अन्तराष्ट्रिय समाचारहरुले जनाएका छन् । दुर्घटनामा परी विमानमा सवार सबै ३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

‘मोनारो क्षेत्रमा आगो निभाउँदै आएको एउटा एयर ट्यांकरसँग सम्बन्ध विच्छेद भएको छ,’ न्यु साउथ वेल्स ग्रामीण अग्निनियन्त्रण कार्यालयले विज्ञप्तिमा भनेको छ । स्थानीय अधिकारीहरुका अनुसार जहाज दुर्घटनामा परेको विज्ञप्तिमा जनाइएको छ । जहाजको अवस्था बुझ्नका लागि हेलिकप्टरहरु पठाइएको छ । घटनाको अनुसन्धान गरिरहेको पनि अधिकारीहरुले जनाएका छन्। दुर्घटनामा परेको आशंका गरिएको विमान बोइङ ७३७ हो ।

‘वाटर बम्बिङ प्लेन’ नामले चिनिने यस्तो जहाजमा सामान्यतयाः दुई जना पाइलट हुने गर्छन्। यसले १५ हजार लिटर पानी बोक्न सक्ने क्षमता राख्छ । साथै यसले आगो निभाउन प्रयोग गरिने विभिन्न पदार्थ तथा पानीको सहायताले जमिनमा रहेका अग्निनियन्त्रकलाई सहयोग पुर्‍याउँछ ।

त्यस्तै आगलागीका कारण क्यानबेरा विमानस्थल अबरुद्ध भएको छ । शहरको केन्द्रमा रहेको संसद भवनबाट २० मिनेटको दूरीको क्यानबेरा एयरपोर्टबाट उडानहरू रद्द गरेको जनाएको छ ।

आगलागीले प्रदुषण फैलिएपछि सबै उडान रद्द गरिएको समाचार एजेन्सीहरुले जनाएका छन् । क्यानबेरामा अधिकारीहरूले आपतकालीन अबस्था भनी घोषणा गरेका छन् ।