भ्रष्टाचार छानबिन गर्न बलियो संस्था आवश्यक छ : पूर्वप्रधानमन्त्री भट्टराई

भ्रष्टाचार छानबिन गर्न बलियो संस्था आवश्यक छ : पूर्वप्रधानमन्त्री भट्टराई


कास्की – नेपाल समाजवादी पार्टी (नेसपा) संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भ्रष्टाचारको छानबिनका लागि बलियो संस्था आवश्यक रहेको बताएका छन् ।
नेसपाको सोमबारदेखि पोखरामा सुरु भएको प्रथम विधान अधिवेशनको उद्घाटन गर्दै उनले भ्रष्टाचारको निष्पक्ष छानबिन नभएकाले शक्तिशाली र साधनस्रोत सम्पन्न संस्थाको खाँचो रहेको बताए ।
उनले भने, ‘फरक पार्टीकालाई भ्रष्टाचारको मुद्दा लगाउने र आफ्नालाई संरक्षण गर्ने गरिएको छ । यसरी देशमा सुशासन कायम हुन सक्दैन । भ्रष्टाचार नियन्त्रण गर्न बलियो संस्था आवश्यक छ ।’
संयोजक भट्टराईले राष्ट्रिय एकता बलियो बनाउनका लागि देशभित्र रोजगारी सिर्जना गरेर युवाहरूलाई देशभित्र नै राख्नुपर्नेमा जोड दिए । ‘देशका लागि लड्ने युवा नभए राष्ट्रिय स्वतन्त्रता कमजोर हुन्छ, देशलाई एकताबद्ध राख्न देशभित्र रोजगारी सिर्जना गर्ने र युवाहरूलाई देशभित्र नै राख्नुपर्दछ । हिमाल, पहाड र तराईमा बस्नेहरूबीच एकता कायम गरेर मात्र राष्ट्रिय बलियो बन्दछ,’ भट्टराईले भने ।
नेसपाको वैचारिक राजनीतिक विश्लेषणा सही रहेको बताउँदै केही समय लागे पनि आफूहरूको विचार स्थापित भएरै छाड्ने उनले स्पष्ट पारे । ‘५ सिद्धान्तका आधारमा नयाँ नेपाल बनाउने परिकल्पना हाम्रो रहेको छ । केही समय लाग्ला तर वैकल्पिक राजनीतिक शक्ति र विचार स्थापित हुनेछ,’ उनले भने ।
नेता भट्टराईले बाहिरी शक्तिहरूले नेपालमा अस्थिरता फैलाउने प्रयास गरेको जिकिर गरे । उनले संघीयता र समावेशी लोकतन्त्रलाई बलियो बनाएर हिमाल, पहाड र तराईकाबीच बलियो एकता निर्माण गर्नु आवश्यक रहेको बताए ।
अधिवेशनमा पार्टीका सचिवालय सदस्य एवं विधान तथा घोषणापत्र मस्यौदा समितिका संयोजक डा. जनक शाहले पार्टीको घोषणपत्र र सचिवालय सदस्य एवं अधिवक्ता कृष्ण शर्माले पार्टीको विधान प्रस्तुत गरेका थिए ।
प्रस्तुत घोषणापत्र र विधानका बारेमा सहभागीहरूबीच समूह बनाएर समूहगत छलफल भइरहेको पार्टीका गण्डकी प्रदेश अध्यक्ष किरण थापाले जानकारी दिए । उनका अनुसार अधिवेशनले पार्टीको विधान र घोषणापत्र पारित गर्नेछ ।
अधिवेशनले पार्टीको संगठनात्मक संरचना, नेतृत्व प्रणाली र सिद्धान्त लगायतका विषयहरू टुंगो लगाउने छ । अधिवेशनले पार्टीको महाधिवेशन, मिति र स्थानको घोषणा गर्ने बताइन्छ ।
विक्रम संवत् २०७२ असोजमा नयाँ संविधान बनेपछि संयोजक भट्टराईले तत्कालीन एकीकृत नेकपा माओवादी परित्याग गरी नयाँ शक्ति नामक अभियान सञ्चालन गरेका थिए ।
त्यसपछि नयाँ शक्ति नेपाल पार्टी घोषणा गरेका भट्टराईको पार्टीको नाम परिवर्तन हुँदै हाल नेपाल समाजवादी पार्टी बनेको छ ।