काठमाण्डु – नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रमुख ३ राजनीतिक दलहरू चरम भ्रष्टाचारमा डुबेको आरोप लगाएका छन् ।
जनकपुरधाममा शनिबार नेसपा मधेश प्रदेश कमिटीको कार्यालय उद्घाटन गर्दै उनले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र मधेशवादी दलहरू चरम भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाए ।
आफूले गरेका भ्रष्टाचारहरू लुकाउन सरकार फेरिने र एकले अर्कोलाई आरोप लगाउने गरेको उनले बताए । भ्रष्टाचारतन्त्रमा फसेको राजनीतिलाई भ्रष्टाचाररहित, सुशासनयुक्त राजनीति स्थापना गर्ने र देशमा तीव्र विकास र समृद्धि ल्याउने एजेन्डा आफूले बोकेको बताए ।
उनले भने, ‘सबै पार्टी जसरी चरम भ्रष्टाचारमा डुबेका छन्, नेताहरू सबै कमिसन खोरीमा गाँजिएका छन् । अन्तर्राष्ट्रिय स्तरका अर्बौं, अर्बका भ्रष्टाचार भएका छन् । त्यसैले यी ठूलाठूला नेताहरू पालैपालो सत्तामा बसेर आफ्नो भ्रष्टाचारको काण्ड लुकाउने प्रयत्नमा छन् । प्रत्येक पटक सरकार फेरिन्छ, अनि अर्कोलाई भ्रष्टाचारी भन्छ । आफ्नो लुकाउँछ । पालैपालो सबैले सबैलाई भ्रष्टाचारी भनिरहेको छ । यसको अर्थ यी सबै भ्रष्टाचारी हुन्, यिनीहरू । यस्ता भ्रष्टाचारतन्त्रमा फसेको राजनीतिलाई निकालेर भ्रष्टाचाररहित, सुशासनयुक्त राजनीति स्थापना गर्ने र त्यसले देशमा तीव्र विकास र समृद्धि ल्याउने हो । देशको मुख्य समस्या भनेको गरीबी र बेरोजगारी नै हो, त्यो हटाउन आर्थिक विकासमा केन्द्रित भएर जानुपर्छ । यो देशलाई २० वर्षभित्र गरिबीबाट मुक्त गर्ने, रोजगारी सिर्जना गर्ने गुरुयोजना मोटामोटी बनाएका छौं । त्यसको लागि चाहिने सुशासन हो । यो भ्रष्टाचार जुन छ, जसरी पैसा खर्च गरेर भोट किनेर सत्तामा पुग्ने अनि त्यसपछि पालैपालो देशलाई लुट्ने । चाहे कांग्रेस भन्नुस्, एमाले भन्नुस्, माओवादी भन्नुस् । चाहे मधेसवादी दलहरू भन्नुस् । यो त पटक पटक तपाईंहरले देख्नुभएको छ । हामी त्यो दुष्चक्र रोक्न चाहन्छौं । भ्रष्टाचार अन्त्य गर्न अधिकार सम्पन्न आयोग बनाउँछौं । त्यसले सबै भ्रष्टाचारीहरूको छानबिन गरेर यिनलाई कठघरामा उभ्याउँछौं । कसैलाई भ्रष्टाचार गर्न दिँदैनौं ।’
प्रतिक्रिया