पूर्वप्रधानमन्त्री डा. भट्टराईको उद्घोष : ठूला ३ दलका नेताविरुद्ध ठूलो आँधीबेहरी आउँदैछ

पूर्वप्रधानमन्त्री डा. भट्टराईको उद्घोष : ठूला ३ दलका नेताविरुद्ध ठूलो आँधीबेहरी आउँदैछ


गोरखा – नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ठूला ३ दलका शीर्ष नेताविरुद्ध ठूलो आँधीबेहरी आउने उद्घोष गरेका छन् ।

गोरखाको पालुङटार नगरपालिकामा पार्टीको नगर सम्मेलनलाई सम्बोधन गर्दै डा. भट्टराईले मुख्य दलका नेताकै कारण देश रसातलमा पुगेको आरोप लगाए ।

उनले भने, ‘२०७९ को चुनाव हेर्नुभयो, त्यसयता ३ टाउकोका हर्कत देख्नुभयो, यिनले देशलाई रसातलतिर लगे । जनताले विकल्प खोजेका छन्, यिनका विरुद्ध ठूलो आँधीबेहरी आउँदैछ ।’

ठूला दलका नेताहरूको कुबुद्धिले देश गरीबी र दुष्चक्रमा परेको उनको आरोप छ । उनले भने, ‘सुगौली सन्धिदेखि आँखा दह्रो राखेर सुँड घुसार्न पाइन्छ कि भन्ने शक्ति पनि छन्, यिनीहरूको भ्रष्टाचार, कुबुद्धि, मुर्खताले गर्दा देश गरीबी र यो दुष्चक्रमा पर्‍यो । बाह्य शक्तिले ब्वाँसो जसरी लुछ्ने प्रयत्न गरिरहेका छन् ।’

नयाँ ढंगको वैचारिक शक्ति चाहिन्छ भनेर २०७३ सालमा घोषणा गरेर अघि बढेको उनले स्मरण गरे । उनले भने, ‘गत चुनावको संकेत देखिहाल्नुभयो, २०८४ सालमा ठूलो उभार आउने देखेको छु । लोकतन्त्रमा आधारित समाजवादको विचार वरपर नै अग्रगामी वैकल्पिक शक्तिको धुव्रीकरण हुन्छ ।’