बाबुराम भट्टराईले भने : नयां शक्तिले मात्र देशको समस्या हल गर्न सक्छ

बाबुराम भट्टराईले भने : नयां शक्तिले मात्र देशको समस्या हल गर्न सक्छ


काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले शहिद बेपत्ता तथा घाइते परिवारहरू अहिले पनि उचित रुपले व्यवस्थापन हुन नसकेको बताएका छन् ।

नयां शक्ति पार्टी शहिद, बेपत्ता परिवार, घाइते अपाङ्ग एवं द्वन्द प्रभावित परिवार व्यवस्थापन विभागले शनिबार पार्टी केन्द्रिय कार्यालय बबरमहलमा आयोजना गरेको कार्यक्रममा भट्टराईले सो कुरा बताएका हुन् ।

डा. भट्टराईले तत्कालिन माओवादीका सबै भन्दा माथिल्लो जिम्मेवारीमा रहेका नेता सुरेश वाग्ले र माओवादीमा पहिलो पटक गठन गरिएको प्लाटुन कमाण्डर भिमसेनको सम्झनामा भाद्र २३ गते शहिद तथा बेपत्ता दिवस मनाए पनि लखन थापा देखि राणा शासन विरुद्ध, पञ्चायतका विरुद्ध र गणतन्त्र प्राप्ति र मधेश आन्दोलन सबैमा शहिद हुनेहरूको उत्तीकै उच्च मुल्याङ्कन हुने समेत बताए ।

आफू प्रधानमन्त्री हुँदा शहिद तथा बेपत्ता आयोग गठन गरेपनि त्यसले सोचे जस्तो काम गर्न नसकेको बताए । उनले अहिलेको व्यवस्थाले शहिद, बेपत्ता, घाइते, अपाङ्ग र द्वन्द प्रभावितको निम्ति उचित व्यवस्थापन गर्न नसक्ने तर नयाँ शक्तिले भने जस्तो सरकार देशमा भए त्यसले मात्र यी समस्या हल गर्न सक्ने पनि दावी गरे ।

सोहि कार्यक्रममा शहिद सुरेश वाग्ले ज्येष्ठ सुपुत्र दिपक वाग्लेले शहिदहरूको सपना पूरा हुन नसकेको बताउदै आफू सधै शहिद सुरेश वाग्ले लगाएतले देखेको सपना पूरा गर्न सक्रिय हुने बताए ।

कार्यक्रममा भेनस हस्पिटल तथा रेडक्रस सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रम समेत भएको थियो । रक्तदान कार्यक्रममा ५८ जनाले रक्तदान गरेका थिए ।