चीन जान लागेका प्रधानमन्त्री ओलीलाई बाबुराम भट्टराईले दिए यस्तो सल्लाह

चीन जान लागेका प्रधानमन्त्री ओलीलाई बाबुराम भट्टराईले दिए यस्तो सल्लाह


काठमाण्डु-नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोजक डा. बाबुराम भट्टराईले दुई उदीयमान र प्रतिस्पर्धी शक्तिहरू चीन र भारत बीचको नेपालको विशिष्ट भूरणनीतिक, भूआर्थिक र भूराजनीतिक स्थितिलाई ध्यानमा राख्न सरकारलाई सुझाव दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको सन्दर्भ पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले सबैसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्नेतर्फ सरकारले ख्याल गर्नुपर्ने सुझाएका हुन् ।

आफ्नो चीन भ्रमणको विषयमा प्रधानमन्त्रीले बोलाएको बैठकमा अनुपस्थित हुने जनाउँदै भट्टराईले सामाजिक संजाल एक्समार्फत् प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् । भट्टराईले नेपाल दक्षिण एसियाको सबैभन्दा पुरानो स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएको उल्लेख गर्दै आफ्नो सार्वभौमसत्तालाई भ्रमणका क्रममा पनि ख्याल राख्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।

चीन भ्रमणको तयारीबारे परामर्शका लागि प्रधानमन्त्रीले आज ११ बजे सिंहदरबारमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री लगायतको बैठक बोलाएका छन् । तर आफू गृहजिल्ला गोरखा जान लागेकाले प्रधानमन्त्रीले बोलाएको बैठकमा सहभागी नहुने पनि भट्टराईले सामाजिक सञ्जाल एक्समार्फत् नै जानकारी गराएका छन् ।

‘हाम्रो कमजोर अर्थतन्त्रलाई कम भन्दा कम समयमा विकसित चरणमा पुर्‍याउन वैदेशिक व्यापार, पूँजी, प्रविधि, ज्ञान र सद्भाव चाहिने छ’, भट्टराईले लेखेका छन्, ‘चीनको बीआरआईबाट फाइदा उठाउनै पर्छ ।’

भट्टराईले पार्टीको तर्फबाट प्रधानमन्त्री र उनको टोलीलाई चीन भ्रमणको शुभकामना समेत दिएका छन् ।