काठमाण्डु- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिको आलोचना गरेका छन् ।
कोलम्बिया विश्वविद्यालयका प्राध्यापक जेफ्री स्याक्सको आलोचनात्मक लेख साझा गर्दै भट्टराईले यो विश्वभरका गैरजिम्मेवार नेताहरूका लागि आँखा खोल्ने पाठ बन्न सक्ने बताएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले सामाजिक सञ्जाल एक्समा प्राध्यापक स्याक्सको लेख साझा गर्दै लेखेका छन्, ‘अमेरिकी राष्ट्रपतिको त्रुटिपूर्ण व्यापार नीतिहरूमा जेफ्री स्याक्सद्वारा लिखित अर्को उत्कृष्ट लेख । यो विश्वभरका अन्य गैरजिम्मेवार नेताहरूका लागि आँखा खोल्ने कुरा हुन सक्छ ।’
स्याक्सले ‘कमन ड्रिम्स’ मा प्रकाशित लेखमा ट्रम्पको व्यापार नीतिलाई ‘बेतुका’ र ‘हानिकारक’ भनेका छन् । उनले अमेरिकाको व्यापार घाटा विदेशी मुलुकले ठगेर नभई अमेरिकाको आर्थिक लापरवाही, धनी वर्गका लागि कर छुट, र अनावश्यक युद्धमा खर्बौं डलर खर्चका कारण भएको तर्क गरेका छन् । ट्रम्पको भन्सार शुल्कले यो घाटा नघट्ने, बरु अमेरिकी जनताको जीवनस्तर घटाउने र विश्व अर्थतन्त्रलाई हानि पुर्याउने उनको चेतावनी छ ।
अप्रिल ४ मा ट्रम्पले विश्वभरबाट आयात हुने सामानमा भारी भन्सार शुल्क लगाएका छन् । चीनले पनि जवाफी कारबाहीस्वरूप अमेरिकी सामानमा ३४ प्रतिशत शुल्क लगाएको छ । यसले विश्वव्यापी व्यापार युद्धको जोखिम बढाएको छ । स्याक्सले यो नीतिले आयात र निर्यात दुवै घट्ने, अमेरिकी उपभोक्ताले महँगो मूल्य तिर्नुपर्ने र विश्व व्यापारको लाभ गुम्ने बताएका छन् ।
प्रतिक्रिया