काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपामा आउन आग्रह गरेको भोलीपल्ट समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जवाफ फर्काएका छन् ।
बिहीवार सामाजिक सञ्जाल ट्वीटरमा डा भट्टराईले खड्गप्रसाद ओलीको पिंजडामा फसेर छट्पटाइरहेका प्रचण्डले आफूहरूलाई शरण दिनु लज्जाष्पद भएको प्रतिक्रिया दिएका छन् ।
‘पंचतन्त्रको ‘कंकड़ लुब्ध पान्थ कथा’ मा शिकार गर्न नसक्ने बुढो बाघले हातमा सुनको बाला लिएर बटुवाको शिकार गरेझैं आफैं खड्गप्रसादको पिंजडामा फसेर छट्पटाइरहेका पुष्पकमलले हामीलाई पनि पिंजडामा आउन आग्रह गरेछन् ! आफैं त महादेव उत्तानो टाँगः कस्लाई दिने वर……?’ डा. भट्टराईले भनेका छन् ।
बुधबार समाजवादी पार्टीका नेतालाई पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले बाबुराम, अशोक राई र उपेन्द्र यादवलाई नेकपामै आउन आग्रह गरेका थिए ।
पार्टी प्रवेश गर्ने नेताहरूले बाबुराम र अशोक राईहरू पार्टीमा निरीह भएर बस्नुपरेको बताएपछि प्रचण्डले नेकपामै आउन आग्रह गरेका थिए ।
उनले पार्टी प्रवेश गरेका समाजवादीका नेता रामप्रसाद रिजालको भनाइ उदृत गर्दै भने, ‘रामप्रसादजीले त्यहाँ अशोक राई र बावुराम भट्टराई बडो निरिह भएर बस्नु परेको छ । अप्ठ्यारो अवस्थामा हुनुहुन्छ भन्नुभयो ।’
प्रचण्डले रामप्रसादको सो कुरा सत्य होला भन्ने लागेको बताए ।
उनले भने, ‘उपेन्द्रजी पनि त्यहाँ झमेला गर्नु भन्दा यहाँ (नेकपामा) मिल्न आए हुन्थ्यो ।’
उनले एकताबद्ध हुनुपर्नेमा जोड दिए । उनले भने, ‘अलग अलग चुल्हा चौका लगाएर हुँदैन । देशको समृद्धिका लागि सबै मिलेर जाऔँ ।’
प्रतिक्रिया