जेसिका र रशिलालाई बङ्गलादेशमा रजत

जेसिका र रशिलालाई बङ्गलादेशमा रजत


काठमाडौं – नेपालका जेसिका गुरुङ र रशिला महर्जनको जोडीले बङ्गलादेशको राजधानी ढाकामा भएको ‘बङ्गलादेश जुनियर इन्टरनेशनल सिरिज ब्याडमिन्टन प्रतियोगिता’मा रजत पदक प्राप्त गरेका छन् । ढाकास्थित शहीद ताजुद्धिन अहमद रङ्गशालामा आइतबार सम्पन्न अन्तीम स्पर्धामा जेसिका र रशिलाको जोडी मलेसियाको खेलाडीसँग पराजित भएका हुन् ।

ती जोडी मलेसियाका चेङ सु यिन र चेङ सु हुईसित २१–८ र २१–७ अङ्कले पराजित भएको प्रशिक्षक किरण थापाले जानकारी दिए । यसअघि जेसिका र रशिलाको जोडीले सेमिफाइनलमा बङ्गलादेशका खेलाडीलाई हराएका थिए । सो ब्याडमिन्टन प्रतियोगिता खेल्न नेपाली टोली गत मङ्सिर २९ गते बङ्गलादेशतर्फ प्रस्थान गरेका थिए ।

बङ्गलादेश जुनियर इन्टरनेशनल सिरिजमा जेसिका र रशिलासँगै प्रिन्स दाहाल र देवराज रानाले सहभागिता जनाएका थिए । नेपाली खेलाडीले पुरुष र महिला एकल तथा युगल र मिक्स युगल विधामा स्पर्धा गरेका थिए । उक्त प्रतियोगितामा बङ्गलादेश, नेपाल, भारत, मलेसिया, थाइल्याण्डलगायत देशका खेलाडी सहभागी थिए ।