विश्व ब्याडमिन्टनमा प्रिन्सको छलाङ, तेस्रो स्थानमा उक्लिए

विश्व ब्याडमिन्टनमा प्रिन्सको छलाङ, तेस्रो स्थानमा उक्लिए


काठमाण्डु – विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा नेपालका खेलाडी प्रिन्स दाहालले छलाङ मारेका छन् । विश्व ब्याडमिन्टन महासङ्घले शुक्रबार जारी गरेको जुनियरतर्फको बरियताअनुसार दाहाल तेस्रो स्थानमा उक्लिएका छन् । यसअघिको बरियतामा दाहाल सातौँ स्थानमा रहेका थिए ।

दाहालभन्दा माथि डेनमार्कका म्याड्स जोएल मुलर तथा भारतका वरुण कपुर रहेका छन् । विश्व बरियतामा डेनमार्कका मुलर शीर्षस्थानमा तथा भारतका कपुर दोस्रो स्थानमा उक्लिएका छन् । यसअघि मुलर पाँचौँ तथा कपुर चौथो स्थानमा रहेका थिए ।

नेपालका जुनियर खेलाडी दाहालले पाएको यो अहिलेसम्मकै ठूलो सफलता हो । व्यक्तिगत तथा देशकै लागि ठूलो उपलब्धि भएको दाहालले बताए । उनी पुष्पलाल स्मृति र्‍याङकिङ ब्याडमिन्टन प्रतियोगिता खेल्ने क्रममा सिरहाको गोलबजारमा छन् । दाहाल शुक्रबार भएको क्वाटरफाइनलको खेलमा नवीन श्रेष्ठलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

नेपाली ब्याडमिन्टनको इतिहासमा दाहालले प्राप्त गरेको यो नै सबैभन्दा ठूलो सफलता भएको ब्याडमिन्टन प्रशिक्षक जयन्त श्रेष्ठले जानकारी दिए । सुदूरपश्चिमको दार्चुला घर भएका दाहाल हालसम्म कुनै पनि विभागीय क्लबमा आवद्ध भएका छैनन् । उनी आफ्नो प्रदेशबाट नै ब्याडमिन्टन खेल्दै आएका छन् । विसं २०७६ चैतमा विश्व ब्याडमिन्टन महासङ्घले जारी गरेको बरियतामा दाहाल सातौँ स्थानमा रहेका थिए ।

विसं २०७६ मङ्सिरमा जारी विश्व बरियतामा दाहाल ३२औँ स्थानमा, पुस दोस्रो साता १४औँ स्थानमा तथा पुस अन्तिम साता १०औँ स्थानमा उक्लिएका थिए । दार्चुला सदरमुकाम खलङ्गा घर भएका १७ वर्षीय दाहाल हाल ललितपुरको जाउलाखेलस्थित डाँफे इङ्गलिस बोर्डिङ स्कूलमा १० कक्षामा अध्ययनरत छन् । विश्व ब्याडमिन्टन महासङ्घले विश्वभरका सिनियर र जुनियरतर्फका ब्याडमिन्टन खेलाडीको विश्व बरियता निर्धारण गर्दै आएको छ ।