काठमाण्डु– क्यासिनो सञ्चालन गर्न नयाँ लाइसेन्स दिएको प्रकरणमा नेपाली कांग्रेसका एउटै गुटका मन्त्री र सांसदबीच जुहारी चलिरहेको छ ।
जुहारी चल्ने संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डे र प्रतिनिधि सभा सदस्य सांसद राजेन्द्र बजगाई दुवै नेपाली कांग्रेसका नेता हुन् । त्यतिमात्र होइन पाण्डे र बजगाईँ कांग्रेसमा नेता डा. शेखर कोइराला समूहमा छन् । तर, एउटै पार्टीभित्र पनि एउटै गुटमा रहेका नेताहरू आरोप प्रत्यारोपमा उत्रिएका छन् ।
पर्यटन व्यवसाय सञ्चालन गरिरहेका गोरखाका सांसद बजगाईंले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ स्थित रोयल टाइगर प्यालेस क्रियशन प्रालिलाई क्यासिनो सञ्चालनको इजाजत पत्र दिन पर्यटनमन्त्री पाण्डेले घूस लिएको बताएका थिए । तर, आफूमाथि लागेको त्यो आरोप निराधार रहेको बताउँदै पाण्डेले कानूनी लडाईं लड्ने बताएका छन् ।
मन्त्री पाण्डेले पार्टीकै सांसद बजगाईंको नाम नलिई आफ्नो इमान र निष्ठामाथि धावा बोल्नेविरुद्ध कानूनी लडाइँ लड्ने बताएका हुन् । पाण्डेले केही व्यक्तिले पर्यटन क्षेत्रबाट नाजायज लाभ लिन आफूमाथि आरोप लगाएको दाबीसमेत गरेका छन् । नाजायज लाभबाट व्यक्तित्व विकास गर्न खोज्नेहरु आफ्नो इमान्दार प्रयासबाट अत्तालिएको पाण्डेको भनाइ छ ।
उनले भनेका छन्, ‘पर्यटन क्षेत्रबाट नाजायज लाभ लिन खोजिरहेका मानिसहरु, जसको इमान र निष्ठा छैन, ती मानिसहरुले मेरो इमान्दार प्रयासलाई, मेरो निष्ठावान प्रयासलाई मानमर्दन गर्नेगरी मेरो मनोबल गिराएर यो क्षेत्रलाई फेरि हिलो पानीमा माछा मार्ने क्षेत्रकै रुपमा राखिराख्न र त्यसमा आफू सफल हुन, नाजायज फाइदा लिन, त्यसभित्र आफ्नो खेलो फड्कोलाई बलियो बनाउन त्यो प्रवृत्ति अगाडि आएको हो भन्ने आभाष भएको छ । त्यसकारण नैतिक बलका आधारमा म कानूनी र नैतिक लडाईं पनि लड्छु ।’
आफूबाट कुनै पनि कमजोरी भएको भए सरकार र पार्टीबाट बाहिरिने घोषणासमेत पाण्डेले गरेका छन् । उनले आकाशलाई सुरक्षित गर्न, जिडिपी बढाउन र पर्यटन प्रवर्दन गर्न आफूले सक्दो पहल गरिरहेको बताए ।
यता बजगाईंले मंगलबार सामाजिक सञ्जाल फेसब्ुकमा क्यासिनोको इजाजत पत्रसमेत सार्वजनिक गर्दै ‘क्यासिनो सञ्चालकले हामीलाई भैरहवाको क्यासिनो अनुमतिका लागि आफूले करोड करोड रकम दिएको प्रष्ट गरे’ भन्दै लेखेका थिए ।
बजगाईं पनि पर्यटन व्यवसायी भएकाले आफू त्यसबारे जानकार भएकाले मन्त्री बन्नका लागि लबिइङ गरेका थिए । मन्त्री बन्दा बाजी पाण्डेले मारेका थिए । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेको र मन्त्री पाण्डेका गौशाला धर्मशाला, नागरिक उड्डयन प्राधिकरणका कार्यकारी अध्यक्षसँगको विवादका कारण हटे भने कतै आफू मन्त्रीको कुर्सीमा पुग्न सकिन्छ कि भन्ने मनसाय रहेको जानकारहरू बताउँछन् ।
स्रोतका अनुसार आफ्नै समूहका नेताहरू सार्वजनिक रूपमै आरोपप्रत्यारोपमा उत्रिएपछि नेता कोइरालाले पनि यसबारे चासो राखेको बताइन्छ । उनले अनौपचारिक रूपमा मिलाउने प्रयास गरिरहेका कोइरालानिकट एक सदस्यले बताए ।
प्रतिक्रिया