बागमतीमा मन्त्रिपरिषद् विस्तार, १३ मन्त्रालय, १४ मन्त्री (नामसहित)

बागमतीमा मन्त्रिपरिषद् विस्तार, १३ मन्त्रालय, १४ मन्त्री (नामसहित)


काठमाण्डु-बागमती प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपाली कांग्रेसबाट नियुक्त भएका ४ जना मन्त्रीहरूले आज प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

मुख्यमन्त्री बहादुरसिंह लामाले कांग्रेसका सुरजचन्द्र लामिछाने, मीनकृष्ण महर्जन, हरिप्रभा खड्गी र विमल ठकुरीलाई मन्त्रीमा नियुक्त गरेका थिए । महर्जनलाई युवा तथा खेलकुद मन्त्रालय, लामिछानेलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, ठकुरीलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय र खड्गीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

त्यस्तै, गत बुधबार नियुक्त भएका कुन्दनराज काफ्ले र श्यामबहादुर खड्काले पनि जिम्मेवारी पाएका छन् ।

काफ्लेले आर्थिक मामिला तथा योजना र खड्काले खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् । मन्त्री मदुकुमार श्रेष्ठलाई भने कुनै जिम्मेवारी तोकिएको छैन ।

बागमतीमा कूल १३ वटा मन्त्राय भएपनि १४ जना मन्त्री बनाइँदा मन्त्री श्रेष्ठ विनाविभागीय बन्न पुगेका हुन् । यसअघि प्रभात तामाङ आर्थिक मामिला तथा योजनामन्त्रालय तोकिएको थियो । कांग्रेसले बागमतीमा महिलालाई निधेष गरेको भनी आलोचना भएपछि तामाङलाई हटाएर खड्गीलाई मन्त्री बनाइएको छ । यद्यपी बागमती सरकारमा दलितको प्रतिनिधित्व भने शून्य नै रहेको छ ।

एमालेबाट ६ जनाले मन्त्रीको मुख्यमन्त्री नियुक्त भएलगत्तै शपथ लिएका थिए । प्रकाश श्रेष्ठ, अमनकुमार मास्के, किरण थापा मगर, कृष्णप्रसाद सिलवाल, प्रेमभक्त महर्जन, र शुकमाया तामाङलाई एमालेले मन्त्री बनाएको छ । श्रेष्ठले कृषि, मास्केले भौतिक पूर्वाधार, थापा मगरले स्वास्थ्य, सिलवालले वन, महर्जनले श्रम रोजगार र तामाङले उद्योग मन्त्रालयको जिम्मेवारी पाएका थिए ।