काठमाण्डु- बाजुरामा शनिवार बिहान गएको भूकम्पबाट भएको क्षतिको विरण सङ्कलन गर्न सुरु गरिएको छ । जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर बिहान गएको ५ दशमलव २ रेक्टरको भूकम्पका कारण मानवीय क्षति नभए पनि सामान्यरूपमा स्थानीयहरूको घर चर्किएको निमित्त प्रमुख जिल्ला अधिकारी रूपक मण्डलले जानकारी दिएका छन् ।
विकट हिमाली जिल्लामा रूपमा रहेको यहाँका स्थानीय पालिकामा आवतजावतमा समय लाग्ने भएकाले प्रहरीको प्रारम्भिक विवरणअनुसार मानवीय क्षति नभएको र भौतिक क्षतिको विवरण सङ्कलन जारी रहेको निमित्त प्रमुख जिल्ला अधिकारी मण्डलले जानकारी दिए ।
भूकम्पका कारण बूढीनन्दा नगरपालिका–४ मा एक घर भत्किएको छ । घरभित्र तीन बालबालिका बसेको अवस्थामा घर भत्किएको र बालबालिकालाई सकुशल उद्धार गरिएको उनले जानकारी दिए ।
जिल्लाका नौवटै स्थानीय तहका जनप्रतिनिधि, स्थानीय र प्रहरीसँग समन्वय गरी क्षतिको विवरण सङ्कलन कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो। भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केर होहल्ला मच्चिएको थियो।
प्रतिक्रिया