बाजुरा भूकम्प : गोत्रीमा १ सय २३ वटा घरमा क्षति

बाजुरा भूकम्प : गोत्रीमा १ सय २३ वटा घरमा क्षति


काठमाण्डु- बाजुरामा शनिवार बिहान गएको भूकम्पबाट गोत्री गाउँपालिमा–४ मा १२३ वटा घरमा क्षति पुगेको छ ।

शनिवार बिहान ५ दशमलव २ म्याग्नेच्यूडको भूकम्पको केन्द्रबिन्दु रहेको गोत्रीमा पूर्ण तथा आंशिक गरी १२३ वटा घरमा क्षति पुगेको वडाध्यक्ष गौरी सार्कीले जानकारी दिइका छन् ।

उनले अहिले प्रारम्भिक विवरण मात्र संकलन भएको बताए । वडाध्यक्ष सार्कीको संयोजकत्वमा वडाको बैठक बसेर विवरण संकलन गरिएको थियो ।

क्षति पुगेका घरको संकलन भएको विवरण सम्बन्धित निकायमा पठाउने निर्णयसमेत भएको छ । बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले भूकम्पले झन्डै डेढ सय घरमा क्षति पुर्‍याएको र तीमध्ये केन्द्रबिन्दु रहेको वडामा क्षति भएका घरको सङ्ख्या १२३ रहेको बताए ।

बस्नै नमिल्ने घरका मानिसलाई सामान्य क्षति भएका घरमा बस्ने व्यवस्था मिलाउन गाउँपालिका र वडाध्यक्षलाई अनुरोध गरिएको उनको भनाइ छ । प्रभावित नागरिकलाई आवश्यक पाल, त्रिपाल तथा अन्य आवश्यक राहत र सहयोग पुर्‍याउने काम शुरु भएको छ । देवलकोट माविको शौचालयसहित नौ कोठे भवन र दुधेसिल्ला प्राविको चार कोठे भवन पनि भूकम्पबाट जोखिममा परेका छन् ।