बालेनविरुद्ध अवहेलनाको मुद्दा : ७ दिनभित्र जवाफ दिन सर्वोच्चको आदेश

बालेनविरुद्ध अवहेलनाको मुद्दा : ७ दिनभित्र जवाफ दिन सर्वोच्चको आदेश


काठमाण्डु- काठमाण्डु महानगरपालिका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन) विरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।

सोमबार सर्वोच्चका न्यायाधीश न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले उक्त अवहेलना मुद्दामा आदेश जारी गरेको हो । सर्वोच्च अदालतले नर्भिक अस्पतालको संरचना नभत्काउन दिएको अन्तरकालीन आदेशमाथि बालेनले सामाजिक सञ्जालमा फिल्मी स्टाइलमा प्रतिक्रिया दिएका थिए।

उनको प्रतिक्रियाले अदालतको अवहेलना भएको भन्दै अधिवक्ता दीपकराज जोशीले सर्वोच्च अदालतमा निवेदन दिएका थिए । अधिवक्ता जोशीको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश कार्कीको इजलासले ७ दिनभित्र जवाफ दिन भन्दै बालेन समेतका नाममा आदेश जारी गरेको हो।

अस्पतालले निर्माण गरेका संरचना तत्काल नहटाउन अन्तरिम आदेश जारी गरेको थियो।   ‘नक्सा पास नगरी बनाएको संरचनाहरुलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौँ,’ उक्त आदेशपछि बालेनले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै भनेका थिए ।