बालेनको फेहरिस्त–११४ मन्दिर, ११ हिटी, १० कुवा र ६ पोखरी सफाइ

बालेनको फेहरिस्त–११४ मन्दिर, ११ हिटी, १० कुवा र ६ पोखरी सफाइ


काठमाण्डु-काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले चालु आर्थिक वर्षको २ महिनामा ११४ वटा मन्दिर, १११ वटा हिटी, १० वटा कुवा र ६ वटा पोखरीको सफाइ भएको र ४ वटा हिटी पुनरुत्थान गरिएको बताएका छन् ।

आज फेसबुक स्टाटस लेख्दै बालेनले सफाइसँगै मर्मत सम्भार, पुनर्निर्माण र पुनरुत्थानको काम नियमित भइरहेको उल्लेख गरेका छन् ।

‘चालु आर्थिक वर्षको २ महिनाभित्र ११४ वटा सानाठूला मन्दिरको सरसफाइ भएको छ । गएको आर्थिक वर्षभरिमा ३३३ वटा सानाठूला मन्दिर सरसफाइ गरिएको थियो,’ बालेनले भनेका छन्, ‘महानगरपालिकाको स्वर्णिम योजना ‘सम्पदा मर्मत तथा संरक्षण’ कार्यक्रमअन्तर्गत मन्दिरहरूको सरसफाइ भएको हो ।’

सरसफाइका लागि १० जना सुपरभाइजर र १०० जना सरसफाइकर्मीले दैनिक काम गरिरहेका उनले जानकारी दिएका छन् । सुपरभाइजरलाई वडा कार्यालयसँग समन्वय गरेर स्थान पहिचान गर्ने तथा सरसफाइ गराउने जिम्मेवारी दिइएको उनको भनाइ छ ।

सरसफाइ कार्यमा ४० जना अपाङ्गता भएका व्यक्तिहरू (बोल्न सुन्न नसक्ने) र ६० जना सिसडोलबासी रहेको उनको भनाइ छ । १० जना सबइञ्जिनियरलाई सुपरभाइजरले गराएको कामको सुपरीवेक्षण गर्ने जिम्मेवारी दिइएको उनले उल्लेख गरेका छन् । त्यस्तै मन्दिर रङरोगनको लागि ५ जना पेन्टर र यो कामको सुपरीवेक्षणका लागि १ जना इन्जिनियर खटाइएको र सरसफाइका सामानको भण्डारण र लगत राख्न १ जना कार्यालय सहयोगी राखिएको उनको भनाइ छ । यी सबै जनशक्ति श्रम बैंकबाट लिइएको उनले जनाएका छन् ।