काभा भलिबलमा नेपाल विजयी

काभा भलिबलमा नेपाल विजयी


काठमाण्डु – सेन्ट्रल एसियन भलिबल एशोसिएशन (काभा) यू–२० च्याम्पियनसिपमा नेपाल विजयी भएको छ ।

श्रीलंकाको कोलम्बोमा मंगलबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी भएको हो ।

नेपालले माल्दिभ्सलाई पहिलो सेट २५–५, दोस्रो सेट २५–१२ तथा तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पार्‍यो ।

जीतसँगै नेपालले ३ खेलमा ६ अंक जोडेको छ । यसअघि पहिलो खेलमा नेपाल श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

दोस्रो खेलमा उज्वेकिस्तानसँग नेपाल ३–१ सेटमा पराजित भएको थियो । तीनै खेलमा पराजित माल्दिभ्स अंकविहीन छ । माल्दिभ्स यसअघि तुर्किमिनिस्तान र श्रीलंकासँग समान ३–० को सोझो सेटमा पराजित भएको थियो ।

विभिन्न ६ टोली सहभागी प्रतियोगितामा लिग चरणको खेलपछि शीर्ष २ मा रहने टोलीबीच फाइनल खेल हुनेछ । अब नेपालले असोज २४ गते कीर्गिस्तानसँग खेल्नेछ ।