वाम एकता भाड्ने षडयन्त्र भइरहेको प्रचण्डको खुलासा

वाम एकता भाड्ने षडयन्त्र भइरहेको प्रचण्डको खुलासा


महोत्तरी -नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालमा वामपन्थीहरुबीचको एकता भाँडन बिभिन्न तत्वहरुले षडयन्त्र गरिरहेकोले त्यसविरुद्ध खबरदारी आवश्यक भएको बताउनु भएको छ ।

महोत्तरीको हात्तीनेटमा आयोजित बृहत जनसभा तथा प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकता र गठबनधनको प्रक्रिया शुरु भएदेखि पार्टी एकता हुन नदिन षडयन्त्र भइरहेको बताउनुभएको हो ।

“नेपालमा ७० वर्षदेखि कहिल्यै राजनीतिक स्थिरता भएन, कुनै पनि सरकार पाँच वर्ष टिकेन । त्यसैले सुशासन, समृद्धि र समाजवादी नेपालको लागि कम्युनिष्ट शक्तिबीच एकता र वाम गठबन्धन जरुरी छ भनेर मैले नै प्रस्ताव अगाडि बढाएँ ।” अध्यक्ष प्रचण्डले भन्नुभयो, “जनताको चाहना पनि यही भएकोले अहिले झण्डै दुई तिहाई बहुमत वामपन्थीहरुको आएको छ । तर वाम एकता नहोस् र नेपाली जनताले विकास निर्माण र समृद्धिको यात्रा प्राप्त गर्न नसकून भनेर देशी विदेशी प्रतिक्रियावादी लागि परेका छन् ।”

प्रदेश र संघको निर्वाचनमा वाम गठबन्धनको झण्डै दुई तिहाई बहुमत आएपछि एमाले र माओवादी केन्द्रलाई प्रलोभन र धम्की दिएर एकता भाँडने षडयन्त्र भएको अध्यक्षले बताउनुभयो । अध्यक्षले भन्नुभयो, “निर्वाचनमा दुई तिहाई आएपछि कहिले माओवादीलाई, कहिले एमालेलाई प्रलोभन र कहिले धम्की दिएर गठबन्धन टुटाउने षडयन्त्र भइरहेको छ ।”

अध्यक्ष प्रचण्डले इतिहासको निर्माण गर्न एक दुई जना नेताको मात्रै भर पर्न नसकिने बताउनुहुँदै सिँगो पार्टीका नेता र कार्यकर्ता चनाखो हुनुपर्ने समेत बताउनु भयो । “सबैमा अपील गर्न चाहन्छु, तपाईहरु सतर्क रहनुहोला, सावधान रहनुहोला, ताकि षडयन्त्रकारीको षडायन्त्रमा कोही नफसौं ।” अध्यक्षले भन्नुभयो, “हामीले जुन ऐतिहासिक मिसन गरेका छौं, शहीद र अग्रजले देखेका सपना पुरा गर्ने जुन महान अभियानको शुरुआत भएको छ, त्यसलाई बीच बाटोमा नै तुहाउने षडयन्त्र भइरहेको छ । प्रक्रिया अवरुद्ध पार्ने षडयन्त्र भएको छ । तपाईहरु सतर्क बस्नुहोला ।”

दुई नम्बर प्रदेशका सबै पार्टीका नेता कार्यकर्तालाई आ–आफनो पार्टीका नेतालाई सतर्क तुल्याउने र गठबन्धनलाई सफल पार्न समेत अध्यक्ष प्रचण्डले सम्बोधन आव्हान गर्नुभयो ।

हात्तीनेटको ऐतिहासिक र राजनीतिक महत्व रहेको बताउनुहुँदै अध्यक्ष प्रचण्डले २०३६ सालको ऐतिहासिक आन्दोलनको बेला क्रान्तिकारी गाउँका रुपमा हात्तीनेट गाउँका रुपमा सुनेको बताउनुभयो । “तर धेरैपटक महोत्तरी आएर पनि हात्तीलेटमा आएर यहाँका अग्रज कमरेडसँग भेट र जनसमुदायसँग संवाद गर्ने अवसर जुटेको थिएन ।” वहाँले भन्नुभयो ।