वामदेवलाई एकीकृत समाजवादीमा भित्र्याउन जुट्यो सहमति, अब के हुँदैछ छलफल ?

वामदेवलाई एकीकृत समाजवादीमा भित्र्याउन जुट्यो सहमति, अब के हुँदैछ छलफल ?


काठमाण्डु – नेकपा एकता अभियानका संयोजक तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमलाई नेकपा एकीकृत समाजवादीमा भित्र्याउन सहमति जुटेको छ ।

बुधबार एकीकृत समाजवादीको मुख्यालय आलोकनगरमा अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरूसँग छलफल गरेपछि गौतमले छिट्टै पार्टी एकता हुने जानकारी दिए ।

कहिलेसम्म एकता हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘चाँडै नै होला, धेरै समय छैन । समझदारी विकास गर्दै जान्छौं ।’

एकीकृत समाजवादीमा नेता गौतमलाई अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालपछि तेस्रो वरियता दिने सहमति जुटेको छ । गौतमको नाममा सहमति जुटे पनि गौतमसँगै एकीकृत समाजवादीमा आउने अन्य नेताहरूलाई कुन जिम्मेवारी दिने भन्नेमा छलफल चलिरहेको छ ।

गौतमसँगैका नेताहरूले पार्टी प्रवेश नभई पार्टी एकीकरण गर्न चाहेकाले केन्द्रीय कमिटी लगायतमा सम्मानित स्थान खोजिरहेका छन् । सोही विषयमा छलफल चलिरहेको स्रोतले जनाएको छ ।