काठमाण्डु – नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतम सहितका नेता नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारीमा जिम्मेवारी बाधक बनेको छ ।
एकीकृत समाजवादीमा प्रवेश गरेपछि गौतमले तेस्रो वरियतासहित पार्टीको संगठन विभाग प्रमुख मागेका थिए तर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल गौतमलाई तेस्रो वरियता दिन तयार भए पनि संगठन विभाग प्रमुख दिन तयार देखिएका छैनन् ।
जिम्मेवारीमा कुरा नमिलेपछि गौतमसहित अभियानका नेताहरूले सैद्धान्तिक, वैचारिक र संगठनिक विषयहरू टुंगिन बाँकी रहेको बताउन थालेका छन् । यसअघि भने यसै हप्ता पार्टी एकता गर्ने दावी दुवै पक्षका नेताहरूले गरेका थिए ।
एकताको विषय टुंग्याउन भन्दै शनिबार बसेको अभियानको बैठकले एकीकृत समाजवादीसँग तत्काल पार्टी एकता गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय लिन सकेन ।
अभियानका महासचिव डीबी कार्कीले एकीकृत समाजवादीसँग एकता प्रक्रियाबारे गम्भीर छलफल भएको र आफूहरू एकताको पक्षमा रहेको जानकारी दिए । एकीकृत समाजवादीसँग एकताबारे कुरा नमिलेपछि वामपन्थी एकताको बहस अघि बढाउन अभियानको बैठकले संयोजक गौतमको नेतृत्वमा ५ सदस्यीय वार्ता समिति बनाएको छ ।
महासचिव कार्कीले वार्ता समिति बनाएको पुष्टि गरे । यसले एकीकृत समाजवादीमा तत्काल गौतम सहितका नेता प्रवेश नगर्ने निश्चित भएको छ ।
कार्कीले वार्ता समितिले एकीकृत समाजवादीसँगै एमाले लगायतका वामपन्थी दलहरूसँग पनि एकताका लागि पहल र छलफल गर्ने बताए । उनले एकीकृत समाजवादीसँग तत्काल एकताको कुनै निर्णय नभएको बताए पनि के कारणले यस्तो भयो भन्ने प्रश्नमा ‘पछि थाहा पाइहाल्नुहुन्छ’ भन्दै टारे ।
निकट स्रोतले बैठकमा संयोजक गौतमले अध्यक्ष माधवकुमार नेपालले मन खोलेर स्वागत गर्न र उपयुक्त जिम्मेवारी दिन हिच्किचाएको ब्रिफिङ गरेपछि एकताबारे निर्णय नभएको जानकारी दियो ।
यता एकीकृत समाजवादीका नेताहरू भने आफूहरू अभियानको निर्णय पर्खेर बसेको बताइरहेका छन् ।
प्रतिक्रिया