काठमाण्डु – राष्ट्रियसभामा मनोनित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पद तथा गोपनियताको सपथग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद सचिवालयमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले गौतमलाई शपथ ग्रहण गराएका हुन् ।
सपथ ग्रहणपछि गौतमले राष्ट्रियसभाको नियमावली बमोजिम काम गर्न बताएका छन् ।उनले आफूले राष्ट्रियसभामा रहँदासम्म कहिल्यै पनि राष्ट्रिय सभाको गरिमा र यसको प्रतिष्ठा गिराउने गरी कुनै क्रियाकलाप नगर्ने बताए ।
उनले राष्ट्रिय सभाको अध्यक्षलाई कुनै बेला आफूले पार्टी सदस्यता प्रदान गरेको व्यक्ति राष्ट्रिय सभाको अध्यक्ष भएकोमा आफ्नो छाती ठूलो भएको बताए ।
राष्ट्रपति विद्या ण्डारीले गौतमलाई आज राष्ट्रियसभामा मनोनित गरेकी थिइन् । गौतमलाई राष्ट्रपति भण्डारीले संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम सरकारको सिफारिसमा माथिल्लो सदनको सदस्यमा मनोनीत गरेकी हुन् ।
गत भदौ २९ गते बसेको मन्त्रिपरिषद्को नियमित बैठकमा राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रियसभाको एक पदमा गौतमको नाम नियुक्त गर्न सिफारिस गरेको थियो ।
प्रतिक्रिया