काठमाण्डु – पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले अभियानलाई माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) पार्टीमा मिसाउने भएका छन् । ५ पुसमा एकीकृत समाजवादीका अध्यक्ष नेपाल र अभियानका संयोजक गौतमबीच भैँसेपाटीस्थित गौतम निवासमा भएको छलफलमा अभियानलाई एकीकृत समाजवादीमा मिसाउने सहमति बनेको हो ।
अभियानका महासचिव डिवी कार्कीले एकीकृत समाजवादी र अभियानबीच एकीकरण हुने निश्चित भएको बताए । ‘हाम्रो अभियान र एकीकृत समाजवादीबीच एकीकरण हुने निश्चित भएको छ । कहिले घोषणा हुने वार्ता भइरहेको छ,’ महासचिव कार्कीले काठमाण्डुपाटीसँग भने, ‘केही दिनमै एकीकरण घोषणा हुने समय एकिन हुन्छ ।’
एकीकृत समाजवादी पार्टीको स्थायी समिति बैठकले गौतमलगायत नेताहरूलाई पार्टीमा ल्याउने निर्णय गरेपछि त्यो निर्णयको जानकारी गराउन अध्यक्ष नेपाल गौतम निवास भैसेपाटीमा पुगेका थिए । भैसेपाटीमा भएको २ घण्टा लामो भेटवार्तापछि गौतमले अभियानलाई एकीकृत समाजवादीमा मिसाउने निश्चित भएको हो ।
एकीकृत समाजवादीका एक पदाधिकारीले वामदेवसहितका अभियानाम रहेका नेताहरू पार्टीमा आउने पक्कापक्की भएको र केही प्राविधिक कुरा मिलाउन बाँकी रहेको जानकारी दिए ।
एकीकृत समाजवादीमा गौतमलाई तेस्रो वरियता दिने सहमति भइसकेको छ ।
२३ फागुन २०७७ मा सर्वोच्च अदालतले नेकपा एकता भंग गर्दै एमाले र माओवादी केन्द्र ब्युँताएर नयाँ नाममा पार्टी दर्ता गर्नुपर्ने फैसला गरेपछि गौतम दुवै पार्टीमा नगएर तटस्थ बसे । २०७८ भदौमा एमाले पनि विभाजन भएपछि गौतमले एमाले उपाध्यक्षबाट राजीनामा गरेर पार्टी एकता राष्टिय अभियान बनाएका थिए । ।
गौतम तत्कालीन ओली सरकारले सिफारिस गरेको राष्ट्रियसभामा सदस्य छन् । तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रपतिबाट मनोनीत हुने तीन सदस्यमध्येबाट गौतमलाई मनोनीत गरिएको थियो ।
प्रतिक्रिया