बङ्गलादेशमा हिन्दु असुरक्षित, नेपालमा उच्च सर्तकता

बङ्गलादेशमा हिन्दु असुरक्षित, नेपालमा उच्च सर्तकता

हिन्दु व्यवसायी र मन्दिरहरूमाथि लगातार आक्रमण


काठमाण्डु-बङ्गलादेशमा शेख हसिना सत्ताच्युत भएपछि देखिएको कमजोर सुरक्षा स्थितिमा बङ्गलादेशी हिन्दूमाथिको आक्रमण बढेको छ । यसबाट बच्न हजारौं हिन्दू धर्मावलम्बी नागरिक भारत प्रवेश गरिरहेका छन् ।

सत्ताबाट हसिनाको पलायनपछि मुस्लिमबहुल बङ्गलादेशका केही भागमा हिन्दूको व्यवसाय र घरहरूमाथि आक्रमण बढेको छ । विशेषतः हिन्दूहरू हसिनाको मूल मतआधार भएको आरोपमा उनीहरू निसाना बनेका छन् ।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार हिन्दु व्यवसायी र मन्दिरहरूमाथि आक्रमण भएको छ । बङ्गलादेशस्थित हिन्दु बौद्ध क्रिष्चियन एकता काउन्सिलका अनुसार दुईदेखि तीन सय हिन्दुहरूका घरमा आक्रमण भएको छ । व्यवसायीहरूमाथि पनि आक्रमण भएको छ । काउन्सिलका महासचिव राना दास गुप्ताले १५ देखि १५ वटा मन्दिरमा तोडफोड भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्ससँग बताएका छन् ।

‘सयौँ बङ्गलादेशी नागरिक प्रायः हिन्दूहरू, बङ्गलादेशसँगको भारतको सिमानामा भेला भएका छन्,’ भारतको सीमा सुरक्षा बल (बिएसएफ) का उप–महानिरीक्षक अमितकुमार त्यागीले बताए । पश्चिम बंगाल राज्यको भारतीय सीमाक्षेत्रको अन्तिम विन्दु र पश्चिम बंगाल राज्यको जलपाइगुडी जिल्लामा हिन्दु धर्म मान्ने बङ्गलादेशी नागरिक भारत प्रवेश गर्न खोजी रहेको त्यागीले जानकारी दिए । सन् २००९ देखि सत्तामा रहेकी ७६ वर्षीया हसिना एक महिनाभन्दा बढी चलेको विद्यार्थी आन्दोलन पछि सोमबार साउन २१ गते राजीनामा दिएर भारत भागेकी हुन् ।

त्यसपछि बङ्गलादेशको सुरक्षा स्थिति सबल नहुँदा हसिनाका पार्टीका समर्थक र हिन्दू समुदायमाथि आक्रमण बढेको छ । बङ्गलादेश हिन्दू, बौद्ध, क्रिस्चियन, युनिटी काउन्सिलका अनुसार यो हप्ताको सुरुमा कम्तीमा १० वटा हिन्दू मन्दिरमा आक्रमण भएको छ ।

बङ्गलादेशको जनसङ्ख्या १६ करोड ५१ लाख छ । त्यहाँ ९१ प्रतिशत मुस्लिम छन् । त्यसमध्ये ७.९५ प्रतिशत अर्थात् एक करोड ३१ लाखमात्र हिन्दु छन् । बङ्गलादेश अस्तित्वमा आउँदा त्यहाँ १८ प्रतिशत हिन्दु थिए । तर बिस्तारै हिन्दुहरू अल्पसङ्ख्यक हुँदै गए ।

पलायन हुँदै हिन्दु

बङ्गलादेशको जिल्लाको हिसाबले हेर्ने हो भने चार जिल्लामा २० प्रतिशत हिन्दु छन् । गोपालगञ्ज जिल्लामा २६ प्रतिशत हिन्दु छन् भने खुलना जिल्लामा २० प्रतिशत छन् । ठाकुरगाउँ जिल्लामा २२ प्रतिशत र मौलवी बजार जिल्लामा २४ प्रतिशत हिन्दु छन् ।

एक तथ्याङ्क अनुसार हरेक वर्ष २.३ लाख हिन्दुले बङ्गलादेश छाडेका छन् । हिन्दु अमेरिकन फाउण्डेशनको एक रिपोर्ट अनुसार सन् १९६४ र २०१३ को बिचमा १.१ करोडभन्दा बढी हिन्दु बङ्गलादेश छाडेका छन् । रिपोर्ट अनुसार बङ्गलादेशमा हरेक वर्ष २.३ लाख हिन्दु देश छाडेर जान्छन् । बङ्गलादेशको सन् २०११ को जनगणनाअनुसार सन् २००० देखि २०१० को बिचमा देशको कुल जनसङ्ख्यामध्ये १० लाख हिन्दु देशबाट पलायन भएका छन् ।

अहिलेका विभिन्न रिपोर्ट अनुसार बाँकी रहेका हिन्दुमाथि पनि धेरै ठुलो सङ्कट आइलागेको छ । बङ्गलादेशमा रहेको मन्दिर तोडफोड गर्नुका साथै हिन्दुको घरमा आगजनी, लुटपाट हुने गरेका दृश्य बाहिर आएका छन् । त्यहाँ रहेका हिन्दु त्रसित छन् ।

बङ्गलादेशको दैनिक पत्रिका द डेली स्टारका अनुसार हसिनाले बंगलादेश छाडेकै दिनमा २७ जिल्लामा हिन्दु धर्मावलम्बीका घर तथा व्यापारिकस्थलमा हमला तथा लुटपाट भएको थियो । बङ्गलादेशको अन्तरिम सरकारको नेतृत्व गरिरहेका मोहम्मद युनुसले पनि अल्पसंख्यकमाथिको आक्रमण रोक्न आग्रह गरेका छन् ।

युनुसको आग्रहका बाबजुद बङ्गलादेशमा हिन्दु धर्मावलम्बीका घर, मन्दिर र व्यावसायिक स्थानमा हमला नरोकिएको द डेली स्टार पत्रिकाले लेखेको छ । आक्रमण, लुटपाट नरोकिएपछि बङ्गलादेशका सयौँ हिन्दुहरू भारत जानका लागि बङ्गलादेश–भारत सीमा क्षेत्रमा जम्मा भएकाको द डेली स्टारले उल्लेख गरेको छ । बीबीसीले पनि बङ्गलादेशमा हिन्दुहरूमाथि आक्रमण भइरहेको समाचार लेखेको छ ।

बीबीसीका अनुसार बङ्गलादेशका अल्पसंख्यक हिन्दुहरूमाथि यतिखेर निरन्तर आक्रमण भइरहेको छ । उनीहरूका घरमा आगो लगाइएको, लुटपाट मच्चाइएको छ । अल्पसंख्यकका घर, धार्मिकस्थल र व्यापारिक स्थानमा भइरहेको लुटपाट, आक्रमण र तोडफोड भइरहेको कुरा भारतका विदेशमन्त्री एस जयशंकरले २२ साउनमा भारतका दुवै सदनलाई जानकारी गराएका थिए ।

सर्वत्र विरोध र चिन्ता

खलिदा जिया नेतृत्वको बङ्गलादेश नेसनलिस्ट पार्टीका कार्यवाहक अध्यक्ष तथा जियाका छोरा तारिख रेहमानले सामाजिक सञ्जाल ‘एक्स’मार्फत अल्पसंख्यकमाथिको आक्रमण रोक्न अपिल गरेका छन् । त्यस्तै, विश्व हिन्दु महासंघको बङ्गलादेश शाखाले पनि हिन्दुहरूमाथि भएका घटनाको विवरण सार्वजनिक गरेको छ ।

संयुक्त राष्ट्रसंघले पनि बङ्गलादेशमा अल्पसंख्यकमाथि लक्षित आक्रमण भएकोमा चिन्ता व्यक्त गरेको छ । राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेट्सका उप प्रवक्ता हर्हान हकले बङ्गलादेशमा लोकतान्त्रिक प्रक्रिया सुरु हुने विश्वास व्यक्त गर्दै कुनै पनि जाती लक्षित आक्रमणको विरुद्धमा उभिने बताएका छन् ।

बङ्गलादेशको बंगलादेश नेस्नलिस्ट पार्टीकी नेतृ रुमीना फर्हानाले भारतीय सञ्चारमाध्यम द प्रिन्टसँग कुरा गर्दै कुनै पनि जातीविरुद्ध हुने आक्रमणको निन्दा गर्ने बताएकी छिन् । बङ्गलादेशमा अल्पसंख्यक र विशेष गरी हिन्दुहरूमाथि आक्रमण भइरहँदा नेपालमा पनि विभिन्न हिन्दु संघ संस्थाले विरोध जनाएका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य शंकर भण्डारीले बङ्गलादेशमा अल्पसङ्ख्यक हिन्दु तथा बौद्ध धर्मालम्बीमाथि भएको दमन मानवताविरोधी कार्य रहेको बताएका छन् ।

सांसद भण्डारीले विज्ञप्ति जारी गर्दै बङ्गलादेशमा रहेका हिन्दु तथा बौद्ध धर्मावलम्बीमाथि भएको हत्या, आक्रमण, आगजनी तथा सिर्जना गरिएको त्रासदी मानवता विरोधी रहेको भन्दै त्यस्ता घटनालाई तत्कालन रोक्न आग्रह गरेका छन् ।

विश्व हिन्दु परिषद्को नेपाल शाखाले विज्ञप्ति जारी गर्दै बङ्गलादेशमा भइरहेको हिंसाप्रति खेद प्रकट गरेको छ । त्यस्तै, हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानले बङ्गलादेशमा मारिएका अल्पसंख्यकहरूको सम्झनामा आज काठमाडौंको माइतिघरमा श्रद्वाञ्जली सभा आयोजना गर्दैछ ।

बङ्गलादेशमा चर्किएको साम्प्रदायिक विवादको तनाव नेपालमा देखिन नेपाल प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको छ ।

नेपालमा उच्च सर्तकता

बङ्गलादेशको निहुँमा तराई मधेसमा हुन सक्ने सम्भावित साम्प्रदायिक तनावलाई ख्याल गर्दै प्रहरी केन्द्रीय कार्यालयले आफ्ना सातवटै प्रदेश कार्यालयलाई उच्च सतर्कता अपाउन निर्देशन दिएको छ ।

बङ्गलादेशमा अल्पसंख्यकहरूमाथि भरहेको हिंसाका विरोधमा तराई-मधेसमा विरोध  र्‍याली निकालिए पनि अहिलेसम्म अप्रिय घटना भने भएको छैन । एजेन्सीको सहयोगमा