पेरिसबाट बंगलादेश फर्किएका युनुसको वाचा : ‘केही महिनाभित्रै चुनाव गराउँछु’

पेरिसबाट बंगलादेश फर्किएका युनुसको वाचा : ‘केही महिनाभित्रै चुनाव गराउँछु’


काठमाण्डु – नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुस अन्तरिम सरकारको नेतृत्व गर्न बिहीबार बंगलादेशको ढाका फर्किएका छन् ।

आरक्षण विरोधी आन्दोलनबाट चर्किएपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिँदै देश छोडपछि युनुसको नेतृत्वमा नयाँ सरकार बन्ने भएको छ ।

पेरिसबाट दुबई हुँदै ढाका पुगेका युनुसले बिहीबार साँझ नै नयाँ सरकार प्रमुखको रूपमा शपथ लिने कार्यक्रम छ । सरकारको गैरजिम्मेवारीपनले उर्लिएको विद्यार्थी आन्दोलन र मागमा सेनाले सहमति जनाएसँगै हसिना पदबाट राजीनामा दिन बाध्य भएकी थिइन् ।

युनुसलाई पहिलेको सरकारले १०० भन्दा बढी आपराधिक मुद्दाहरूको आरोप लगाएपछि उनी निर्बासनमा बस्दै आएका थिए । सेना प्रमुख जनरल वाकर–उज–जमानले युनुसको समर्थनमा रहेको जनाउँदै बिहीबार साँझ अन्तरिम सरकारको नेतृत्वको शपथ लिने आशा व्यक्त गरेका छन् ।

यसरी आगामी दिनमा लोकतान्त्रिक प्रक्रियाको माध्यमबाट मुलुकलाई अगाडि बढाउन सक्षम हुने विश्वास जमानले व्यक्त गरे । ढाका विमानस्थलमा पत्रकारहरूसँग युनसले भने, ‘केही महिनाभित्रै चुनाव गराउँछु ।’

मुलुकले दोस्रो पटक स्वतन्त्रता प्राप्त गरेको उनले बताए ।