काठमाण्डु – बंगलादेशमा प्रधानमन्त्री शेख हसिना सत्ताबाट हटेको झण्डै दुई महिना हुन लाग्दा भारतसँगको सम्बन्धमा सुधार आउन सकेको छैन । बंगलादेशमा मोहम्मद युनुसको नेतृत्वमा बनेको नयाँ सरकारसँग सम्बन्ध सुधारको प्रतीक्षामा रहेको भारत सफल हुन सकेको छैन ।
बंगलादेशमा चलेको विद्यार्थी आन्दोलनलाई थेग्न नसकेपछि हसिना भारत भागेकी थिइन् । अहिले पनि उनी भारतमै छिन् । भारतमा उनी रहेकाले नै बंगलादेश र भारतबीचको सम्बन्ध खलबिलएको हो ।
बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसको हालैको अन्तर्वार्ताले पनि भारतलाई निराश बनाएको छ ।
हसिनालाई भारतको समर्थकका रूपमा हेरिन्छ । उनको १५ वर्षको शासनकालमा भारत र बंगलादेशबीच घनिष्ठ रणनीतिक र आर्थिक सम्बन्ध रह्यो ।
हसिनाको शासनकाल भारतको सुरक्षाका लागि पनि निकै लाभदायक थियो किनभने उनले बंगलादेशमा बसोबास गर्ने भारत विरोधी विद्रोही समूहहरूविरूद्ध कारबाही गरेकी थिइन् ।
यसका साथै उनले सत्तामा रहँदा भारतसँग बंगलादेशका धेरै सीमा विवादहरू समाधान गरिन् । तर, भारतमा उनको उपस्थितिले दुई देशबीचको बलियो सम्बन्ध कायम राख्ने प्रयासलाई जटिल बनाएको छ । हसिना अझ कहिलेसम्म भारतमै रहने भन्ने अनिश्चित छ ।
समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इण्डियासँगको अन्तर्वार्तामा युनुसले भारतलाई आग्रह गर्दै भनेका थिए–‘शेख हसिनाले आफ्नो बसाइमा राजनीतिक बयान नगर्नुहोला । भारतले उनलाई यसो गर्नबाट रोक्नुपर्छ । हसिनालाई बंगलादेशले फिर्ताको माग नगरेसम्म भारत चुपचाप बस्नुपर्छ ।’ यूनुसले अन्तर्वार्तामा दुबै देशले आपसी सम्बन्ध सुधार्नका लागि मिलेर काम गर्नुपर्ने र अहिले दुबै देशबीचको सम्बन्ध निकै कमजोर अवस्थामा रहेको बताएका छन् ।
बंगलादेशमा जुलाई–अगस्टमा भएको विरोध प्रदर्शनका क्रममा भएको हत्याका लागि हसिनालाई फिर्ता ल्याउने र उनीमाथि मुद्दा चलाउन माग भइरहेको छन् ।
युनुसको पछिल्लो अन्तर्वार्ता पछि भारतको कुनै प्रतिक्रिया आएको छैन । तर, यसबाट भारत ‘विचलित’ भएको बताइन्छ ।
‘मेगाफोन डिप्लोमेसी’
तर, युनुसको अन्तर्वार्ताबाट भारतका कूटनीतिज्ञहरूले यसलाई ‘मेगाफोन डिप्लोमेसी’को संज्ञा दिएका छन् । दुई देशबीचको विवादित विषयमा मिडियामार्फत् बयानबाजी गर्नु नै मेगाफोन डिप्लोमेसी हो ।
बंगलादेशका लागि भारतको उच्चायुक्त रहेकी वीणा सिकरीले भन्छिन् ‘भारत बंगलादेशसँग वार्ता गर्न चाहन्छ । अहिलेका विषयमा आपसमा छलफल गर्न सकिन्त्छ । तर, युनुसले कुन आधारमा दुई देशबीचको सम्बन्ध तल्लो तहमा छ भने मलाई थाहा छैन ।’
केही साताअघि युनुस र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको थियो । तर, भारत र बंगलादेशबीच अहिलेसम्म मन्त्रीस्तरीय वार्ता भएको छैन ।
हसिनालाई अन्य कुनै देशले शरण दिन तयार नभएसम्म उनी त्यहीँ बस्ने भन्नेमा भारतमा एक खाले सहमति पनि छ ।
यद्यपि, बंगलादेशका अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणका नवनियुक्त मुख्य अभियोजक मोहम्मद ताजुल इस्लामले शेख हसिनालाई फिर्ता ल्याउन कदम चाल्ने बताएका छन् । उनी माथि प्रदर्शनका क्रममा भएको हत्याको मुद्दा चलाउने सकिने उनको भनाइ छ । इस्लामले भने, ‘उनी बंगलादेशमा भएको नरसंहारको मुख्य अभियुक्त बनेकाले हामी उनलाई कानुनी रूपमा यहाँ ल्याउने प्रयास गर्नेछौं ।’
तर कुटनीतिक क्षेत्रका जानकारहरू बंगलादेशले औपचारिक अनुरोध गरे पनि हसिनालाई फिर्ता ल्याउन सम्भव नभएको बताउँछन् ।
बंगलादेशमा भारतको पूर्वउच्चायुक्त रहेका रिवा गांगुली दास भन्छन्, ‘शेख हसिना भारतमा पाहुना बनेर बसेकी छिन् । लामो समयदेखि हाम्रो मित्र रहेको साथीसँग आधारभूत शिष्टाचार पनि कायम राख्न सकेनौं भने भविष्यमा भारतलाई विश्वासयोग्य मित्रको रूपमा किन देख्ने ?’
प्रतिक्रिया