बंगलादेशमा धार्मिक अगुवामाथि देशद्रोहको मुद्दा, हजारौं हिन्दु समुदाय सडकमा

बंगलादेशमा धार्मिक अगुवामाथि देशद्रोहको मुद्दा, हजारौं हिन्दु समुदाय सडकमा


काठमाण्डु-बंगलादेशमा हिन्दु धार्मिक अगुवामाथि देशद्रोहको मुद्दा दर्ता गरिएपछि अल्पसंख्यक हिन्दु समुदाय सडमा ओर्लिएका छन् ।

२५ अक्टोबरमा चटगाउँको न्यु मार्केट चौराहामा विरोध प्रदर्शन गरेका चिन्मय कृष्णदास ब्रह्मचारीमाथि ‘देशको सार्वभौमिकता कमजोर बनाउने र अशान्ति सिर्जना गर्ने’ आरोपमा मुद्दा दर्ता गरिएको थियो ।

ब्रह्मचारी र अन्य केही व्यक्तिहरूमाथि देशद्रोहको मुद्दा दर्ता भएपछि बंगलादेशको अल्पसंख्यक हिन्दु समुदायमा आक्रोश फैलिएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

ब्रह्मचारीमाथि मुद्दा लगाइएको विरोधमा दसैँ हजार अल्पसंख्यक हिन्दुहरूले प्रदर्शन गरेका छन् । उनीहरूले हिन्दु समुदायका नेताहरूविरुद्ध दर्ता गरिएको देशद्रोहको मुद्दा फिर्ता लिन माग गरेका छन् ।

हिन्दुहरूले चटगाउँको एक प्रमुख चोकमा अधिकारको माग गर्दै नाराबाजी गर्दै प्रदर्शन गरेको समाचार एजेन्सी एपीले पनि उल्लेख गरेको छ । देशका अन्य स्थानहरूमा पनि अन्य प्रदर्शनहरू भएको छ।

बंगलादेश सनातन जागरण मञ्चका नेता ब्रह्मचारी ५ अगस्टमा सेख हसिनाको नेतृत्वमा रहेको सरकार पतन भएपछि हिन्दुमाथि लक्षित आक्रमणको विरोधमा भएका प्रदर्शनहरूमा अग्रणी भूमिकामा देखिँदै आएका छन् । हसिनाको पतनपछि अन्तरिम सरकारको नेतृत्व नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनसले गरेका छन् ।

आन्दोलनपछि सेख हसिना पद छाडेर भारत भाग्न बाध्य हुनुपरेको थियो । त्यसपछि न्यु मार्केट स्क्वायरमा एउटा खम्बामा राष्ट्रिय झण्डा फहराइएको थियो ।

आरोपपत्रमा ब्रह्मचारी र अन्य व्यक्तिहरूमाथि राष्ट्रिय झण्डाको अपमान गरी देशद्रोह गरेको आरोप लगाइएको छ । राष्ट्रिय झण्डाको माथि धार्मिक झण्डा फहराएर राज्यलाई अस्थिर बनाउन खोजिएको आरोप ब्रह्मचारीमाथि छ ।

बंगलादेशमा विभिन्न मानवअधिकारका नेताहरूले ब्रह्मचारीविरुद्धको प्रहरीले गरेको कारबाहीको विरोध गरेका छन् ।

१२ सेप्टेम्बरमा बंगलादेशको प्रमुख समाचार पत्रिका प्रोथोम अलोले हसिना सरकारको पतनपछि बंगलादेशमा अल्पसंख्यकहरूमा भएका आक्रमणहरूको खोजी रिपोर्ट प्रकाशित गरेको थियो । रिपोर्टमा भनिएको छ, ‘४९ जिल्लामा अल्पसंख्यक समुदायमाथि आक्रमण भएका छन् ।’

हिन्दु समर्थकहरूका अनुसार पूर्वप्रधानमन्त्री सेख हसिनाको धर्मनिरपेक्ष सरकारको पतनपछि र हसिनाले देश छोडेपछि हिन्दुमाथि हजारौँ आक्रमण भएका छन् । बंगलादेशको लगभग १७ करोड जनसंख्यामा हिन्दुहरू ८ प्रतिशत र मुसलमानहरूको संख्या ९१ प्रतिशत छ ।