यसरी ओर्लिए बङ्लादेशी महिलाहरू आन्दोलनमा

यसरी ओर्लिए बङ्लादेशी महिलाहरू आन्दोलनमा


काठमाण्डु-प्रधानमन्त्री शेख हसिनाको १५ वर्ष लामो शासन ढाल्ने गरी बङ्लादेशमा भएको आन्दोलनमा ठूलो सङ्ख्यामा महिलाहरू विरोधप्रदर्शनमा सहभागी भए ।

‘विरोध प्रदर्शनहरूमा महिला तथा किशोरीहरूको सहभागिता अभूतपूर्व थियो,’ ढाकास्थित नोर्थ साउथ यूनिभर्सिटीका राजनीतिशास्त्री तथा समाजशास्त्री डा. बुलबुल सिद्दिकीले भने ।

सरकारविरुद्ध केही प्रदर्शन आयोजना गर्न सघाएकी एकल महिला तथा व्यावसायिक बडीबिल्डर फरजाना लीओको विचारमा ठूलो स्तरमा महिलाहरूको सहभागिता नभइदिएको भए शेख हसिनालाई सत्ताच्युत गर्ने गरी आन्दोलन सफल नहुन पनि सक्थ्यो ।

उनी ४३ वर्षकी छिन् र यसअघि राजनीतिक रूपमा सक्रिय थिइनन् । तर युवा प्रदर्शनकारीहरूमाथि सरकारी सुरक्षाकर्मीहरूले गोली चलाएको देखिने भिडिओ हेरेर उनी स्तब्ध भइन् ।

सडकमा निस्केका युवाहरूबाट पनि उनी प्रभावित भएकी थिइन् । महिलाहरू पनि प्रदर्शनमा सहभागी हुन सुरु गरेपछि त्यसले अरू महिला तथा पुरुषहरूमा आँट जुटाउन सहयोग गर्‍यो ।

सरकारी जागिरमा आरक्षण हटाउनुपर्ने मागसहित विश्वविद्यालयका विद्यार्थीहरूले जुलाई महिलाको सुरुतिर शान्तिपूर्ण विरोध प्रदर्शन थाले । तर पछि त्यो सरकारविरोधी एउटा व्यापक आन्दोलनमा परिणत भयो ।

राष्ट्रसङ्घीय मानव अधिकार कार्यालय (ओएचसीएचआर) को प्रारम्भिक प्रतिवेदनअनुसार जुलाई १६ देखि अगस्ट ११ तारिखको अवधिमा करिब ६५० जनाले ज्यान गुमाए । उसका अनुसार मारिनेमा प्रदर्शनकारी, बटुवा, पत्रकार र सुरक्षाकर्मीलगायत छन् ।

सोह्र वर्षीया रिदिमा अहमद र उनका साथीहरूलाई शेख हसिनाको अवामी लीग पार्टीप्रति बफादार सशस्त्र समूहका सदस्यहरूले अवरोध गर्न खोजे । तर उनीहरूले प्रदर्शनमा जान छोडेनन् ।छोरी र उनका साथीहरूलाई रोक्ने प्रयास गर्नुको साटो रिदिमाकी आमा साइमा पनि आन्दोलनमा जान थालिन् ।

संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनअनुसार शान्तिपूर्ण प्रदर्शनकारी होऊन् अथवा घरेलु हातहतियारसहित आएका प्रदर्शनकारी होऊन्– प्रहरी र अर्धसैनिक फौजहरूले प्रत्यक्ष गोली प्रहारसहित निरन्तरजसो अन्धाधुन्ध बल प्रयोग गरेको देखियो ।

उसका अनुसार गैरन्यायिक हत्या, स्वेच्छाचारी गिरफ्तारी तथा थुनामा राखिएका, बेपत्ता पारिएका र यातना दिइएका भन्ने आरोप लगाइएका रिपोर्टहरू छन् ।

यद्यपि तात्कालिक सरकारको दाबीअनुसार आत्मरक्षा अथवा सरकारी सम्पत्तिको सुरक्षा गर्नुपर्ने अवस्थामा मात्र सुरक्षाकर्मीबाट गोली चलाइएको थियो । यातना दिइएको कुरालाई भने निरन्तर अस्वीकार गरिएको छ ।

बालकालिकासम्बन्धी राष्ट्रसङ्घीय निकाय यूनिसेफका अनुसार प्रदर्शनका क्रममा ३२ बालबालिका मारिएका छन् । बङ्लादेशको एउटा पत्रिकाले त प्रदर्शनका क्रममा ६६ बालबालिका मारिएका जनाएको छ ।

‘उनीहरूलाई जसरी यातना दिइँदै र मारिँदै थियो, त्यो टुलुटुलु हेरेर एउटी कसरी घरभित्र बस्न सक्थिने?’ साइमाले थपिन् । ‘धेरै महिला तथा किशोरीहरू आफ्ना छोराछोरी एवं दाजुभाइका लागि सुरक्षाकवच भनेर प्रदर्शनको अग्रपङ्क्तिमा उभिए’, डा. सिद्दिकी भन्छन् ।

प्रदर्शनका क्रममा सार्वजनिक रूपमा महिलाहरूमाथि आक्रमण नहोला भन्ने बुझाइएका आधारमा पनि त्यसो भएको उनको ठम्याइ छ । यद्यपि त्यो रणनीतिले काम नगरेको डा सिद्दिकी बताउँछन् ।

उनका अनुसार मध्यजुलाईमा आन्दोलन चर्केपछि महिलाहरूमाथि पनि आक्रमण भयो र केही महिला गम्भीर घाइते पनि भए । बङ्लादेश बन्नुअघिका राजनीतिक आन्दोलनहरूमा पनि महिलाहरू सहभागी भएको डा. सिद्दिकी स्मरण गर्छन् । उनका अनुसार ब्रिटिश शासनका बेला उपनिवेशविरोधी आन्दोलन एवं सन् १९५२ मा बङ्गाली भाषाको मान्यताका लागि गरिएका आन्दोलनमा महिलाहरूको सहभागिता थियो ।

तर ती आन्दोलनसँग अहिलेको आन्दोलनलाई तुलना गर्न नमिल्ने उनको तर्क छ । किनभने अहिलेको आन्दोलनमा महिलाहरूको ठूलो सहभागिता रह्यो ।

उनी भन्छन्, ‘परिवार भित्रबाट केटीहरूलाई बढ्दो सहयोग, ठूलो सङ्ख्यामा युवतीहरूको उच्च शिक्षामा संलग्नता, सामाजिक सञ्जालमार्फत् सूचनामा पहुँचले एउटा पुस्ता निर्माणमा मद्दत पुगेको छ जुन पुस्ता अघिल्ला पुस्ताहरूभन्दा निकै आत्मविश्वासी बनेका छन् ।’

शेख हसिना पदच्युत भएको र शरणका लागि भारत पुगेको दुई साताभन्दा बढी समय भएको छ । नोबेल पुरस्कार विजेता प्राध्यापक मुहम्मद युनुसले अन्तरिम सरकारको नेतृत्व गरेका छन् । ढाकामा लगभग जनजीवन सामान्य बनेको छ । तर विद्यार्थीहरू अझै सडकमा छन् ।

उनीहरूमध्ये कतिपयले लोकतन्त्र, धार्मिक सहिष्णुता एवं न्यायको नारासहित भित्तेचित्र बनाइरहेका छन् ।

त्यसमा विश्वविद्यालयकी एक २४ वर्षीया छात्रा साल्वा सराह पनि छिन् । ‘हामी भ्रष्टाचारमुक्त देश चाहन्छौँ। हाम्रा विचारको सम्मान हुनैपर्छ,’ उनले भनिन् ।

तेइस वर्षीया अर्की छात्रा तान्जिना आफ्रिन चुनावमार्फत् आफ्ना नेता छान्न पाउने वातावरण बनोस् भन्ठान्छिन् ।

बीबीसीको रिपोर्टमा आधारित