काठमाण्डु- बंगलादेशमा ८ महिनाअघि प्रधानमन्त्री शेख हसिनाको सत्ताच्यूत हुने गरी भएका नाटकीय राजनीतिक घटनाक्रमले धेरैलाई अचम्भित तुल्याएको छ ।
यद्यपी घटना आफैमा अनौठो र अप्रत्यासित थियो । बंगलादेशको राजनीति परिवर्तनमा भूराजनीतिको प्रभाव पनि रहेको विश्लेषण हुँदै आएको छ ।
हसिनाको शासन अन्त्य भएपछि उनले भारतमा शरण लिएकी छिन् । हसिना भारत समर्थक मानिन्छन् ।
यद्यपी हसिनालाई भारतले शरण दिएकोमा बंगलादेशलाई मन परेको छैन भने पटक पटक सुपुदर्गी गर्न आग्रह गर्दै आएको छ । जसका कारण भारतसँग उसको सम्बन्ध चिसिएको छ ।
यता बंगालेशमा नयाँ अन्तरिम सरकार बनेपछि कुनै समय शत्रु मानिएको पाकिस्तानसँग निकटता बढेको छ ।
दशकौँको समस्याग्रस्त सम्बन्ध अन्त्य गर्दै गत महिनाबाट दुई देशले पहिलो पटक सीधा व्यापार सुरु गरेका छन् । ढाकाले पाकिस्तानबाट ५० हजार टन चामल आयात गर्दै ढाका–इस्लामावाद सीधा उडानसँगै सैन्य सम्पर्क पनि पुनस्र्थापित गरी भिसा प्रक्रिया पनि सहजीकरण गरेका छन् ।
भारतको फराकिलो भूभागले छुट्याएका यी दुई देशबीच निकै गहिरो र पीडादायी सम्बन्धको इतिहास छ । सन् १९७१ मा त्यस बेला पूर्वी पाकिस्तानको नामले चिनिने अहिलेको बंगलादेशले इस्लामावादबाट स्वतन्त्रका लागि संघर्ष सुरु गरेसँगै दुई देशबीको शत्रुताको आरम्भ भयो ।
त्यसबेला ९ महिनासम्म चलेको युद्धमा भारतले बंगाली विद्रोहीहरूलाई समर्थन गर्यो । यसको परिणामस्वरूप स्वतन्त्र बंगलादेशको जन्म भयो ।
त्यस अवधिका गहिरा घाउहरू बाँकी नै रहे पनि ढाका र इस्लामावादबीच सन् २००१ देखि २००६ बीचको अवधिमा पुनः सुमधुर सम्बन्ध स्थापित भयो ।
बंगलादेशमा सन् २००९ बाट सुरु भएर १५ वर्ष टिकेको शेख हसिनाको शासनकालमा अवस्था बदलियो । दिल्लीबाट बलियो साथ पाएकी हसिनाले पाकिस्तानसँग दूरी बढाइन् ।
उनको सरकारविरुद्ध भएको ठूलो प्रदर्शनपछि देश छोडेर हसिना भागेपछि पुनः दुई देशबीचको सम्बन्ध फेरि सुधार हुँदै गएको छ ।
भारतको चिन्ता
यो भूराजनीतिक विकासक्रमलाई पाकिस्तानसँग लामो समयदेखि शत्रुवत् सम्बन्ध कायम रहेको भारतले नजिकबाट नियालिरहेको छ ।
हसिनाले देश छोडेपछि उनलाई आश्रय दिएको दिल्ली र ढाकाबीचको सम्बन्धमा चिसोपना आएको छ । बंगलादेशले मानवताविरुद्धको अपराध, सम्पत्ति शुद्धीकरण र भ्रष्टाचारको आरोपमा मुद्दा चलाउन हसिनालाई सुपुर्दगी गर्न माग गरे पनि भारतले त्यसमा कुनै जबाफ दिएको छैन । हसिनाले भने आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएकी छन् ।
यो अवस्थामा ढाका र इस्लामावादबीचको सम्बन्ध पुनस्र्थापित गरिनुलाई रणनीतिक कदमको रूपमा केही विज्ञहरूले हेरेका छन् ।
‘अहिलेको अवस्थामा पाकिस्तान र बंगलादेशको सम्बन्ध रणनीतिक हो । उनीहरू दुवै मिलेर भारतको प्रभावलाई निस्तेज गर्न चाहन्छन्’ किंग्स कलेज अफ लन्डनमा वरिष्ठ फेलो रहेकी पाकिस्तानकी राजनीतिशास्त्री आयशा सिद्धिका भन्छिन् ।
दुई देशबीच प्रत्यक्ष व्यापारका अतिरिक्त पनि दुई देशबीचको सम्बन्ध पनि थप विकास भएको छ ।
बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले हालैका महिनाहरूमा विभिन्न बहुपक्षीय मञ्चहरूमा पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफसँग कैयौँ पटक भेट गरेका छन् । सँगसँगै सैन्य सम्बन्ध पनि पढ्दो क्रममा छ ।
सुरक्षा चिन्ता
भारत र बंगलादेशबीचको लामो र खुला सीमानाका कारण भारतका उत्तरपूर्वी राज्यका विद्रोही समूहहरूलाई बंगलादेश प्रवेश गर्न सहज छ । तर सन् २००९ मा हसिनाको अवामी लीग सत्तामा पुगेपछि सरकारले यो समूहमाथि कारबाही सुरु गर्यो र आधार इलाकाहरू ध्वस्त बनायो ।
त्यसकारण बंगलादेश र पाकिस्तानबीचको सैन्य सम्बन्ध पुनस्र्थापित हुनु भारतका लागि प्रमुख सुरक्षा चिन्ताको विषय भएको जानकारहरू बताउँछन् ।
विश्लेषकहरूले भारतसँगको आर्थिक तथा भाषिक निकटताका कारण ढाकाले भारतविरोधी अडान लिन नसक्ने विषयमा बंगलादेशका राजनीतिज्ञहरू जानकार रहेको बताउँछन् ।
दिल्लीमा अनेक आशङ्का भए पनि सन् १९७१को युद्धसँग सम्बन्धित विषयहरू समाधान नभएसम्म यो देशको पाकिस्तानसँगको सम्बन्ध सामान्य नहुने बंगलदेशी विश्लेषकहरूको तर्क छ ।
उक्त युद्धका समयमा हजारौँ बंगलादेशीहरू मारिएका थिए भने हजारौँ महिला बालात्कृत भएका थिए ।
यसलाई इस्लामावादको इतिहासमा अपमानजनक अध्यायको रूपमा हेर्ने गरिन्छ ।
युद्धको समयमा भएका अत्याचारहरूबारे बंगलादेशले पाकिस्तानबाट औपचारिक माफी माग गरेको छ तर इस्लामावादले त्यसो गर्ने कुनै इच्छा देखाएको छैन ।
ढाका र इस्लामावादको बढ्दो सम्बन्धमा इतिहासको छाया परे पनि अर्थशास्त्रीहरू दुई देश द्विपक्षीय व्यापार बढाउनेमा सबैभन्दा पहिले केन्द्रित हुनुपर्ने बताउँछन् । यी दुई देशबीचको व्यापार अहिले ७० करोड अमेरिकी डलरभन्दा कम आकारमा सीमित छ र यसको फाइदा पाकिस्तानले लिइरहेको छ ।
जे भए पनि भारत बंगलादेशसँग सम्बन्ध सुधार गर्ने दाउ पर्खिएर बसेको छ । दिल्लीले ढाकासँगको सन्तुलित र मैत्रीपूर्ण सम्बन्ध देशका उत्तरपूर्वी राज्यहरूमा शान्ति र स्थायित्वका लागि महत्त्वपूर्ण ठान्ने गरेको छ ।
प्रतिक्रिया