काठमाण्डु- हालै पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफसँग भएको भेटमा बंलादेशका अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसले पाकिस्तानसँग सम्बन्ध बलियो बनाउने बताएका थिए ।
उनको यो भनाइले भारतसँग बंगलादेशको चिसो सम्बन्धलाई थप परीक्षण गर्ने सम्भावना बढेको छ ।
पाकिस्तान र बंगलादेश सन् १९७१ को क्रूर युद्धमा विभाजित भएका राष्ट्र हुन् । त्यसपछि बंगलादेश पाकिस्तानको कट्टर प्रतिद्वन्द्वी भारततर्फ नजिकियो तर भारतको समर्थन पाएकी र अहिले त्यहाँ निर्वासनमा रहेकी नेता शेख हसिनालाई यहि वर्षको अगस्टमा विद्यार्थी नेतृत्वको क्रान्तिले सत्ताच्यूत गरेपछि ढाकाको नयाँ दिल्लीसँगको सम्बन्ध बिग्रिएको छ । हसिना भारतपरस्त नेतृ मानिन्छिन् । अहिले पनि उनी भारतमा शरण लिएर बसेकी छन् ।
यहि महिना इजिप्टमा एक सम्मेलनका क्रममा पाकिस्तानका प्रधानमन्त्री सरिफ र बंलादेशका अन्तरिम सरकार प्रमुख युनुसबीच भेट वार्ता भएको हो । वार्ताका क्रममा सन् १९७१ को युद्धका बेलादेखि बाँकी रहेका गुनासोहरू समाधान गर्ने विषयमा उनीहरू सहमत भएका हुन् ।
भेटवार्तापछि युनुसको कार्यालयबाट आएको विज्ञप्तिमा दुवै नेता व्यापार, वाणिज्य र खेलकुद तथा सांस्कृतिक प्रतिनिधिमण्डलको आदानप्रदानको माध्यमबाट दुई देशबीचको सम्बन्ध बलियो बनाउन सहमत भएका उल्लेख छ ।
दुवै नेताले मुस्लिम बहुल आठ देशको डी–८ आर्थिक सहयोग संगठनको कायरो शिखर सम्मेलनमा भाग लिएका थिए ।
बंगलादेशले चार महिनाअघि सत्ता परिवर्तन भएदेखि नै त्यस्ता धेरै कदम चालेको छ, जसले पाकिस्तानसँगको सम्बन्धमा सुधार आएको संकेत गर्छ ।
बंगलादेशले पाकिस्तानी नागरिकलाई भिसा दिन आवश्यक सुरक्षा जाँचको नियम पनि हटायो । बंगलादेशको विदेश मन्त्रालयले पाकिस्तानी नागरिकका लागि भिसा प्रक्रिया सरल बनाइ सकेको छ । यस्तै सेप्टेम्बरमा पाकिस्तानले पनि बंगलादेशका नागरिकको लागि भिसा शुल्क हटाएको छ भने र प्रक्रियालाई पनि सरल बनाएको छ ।
सन् २०१९ मा शेख हसिना सरकारले भिसा खोज्ने सबै पाकिस्तानी नागरिकलाई बंगलादेशको सुरक्षा सेवा डिभिजनबाट क्लियरेन्स प्राप्त गर्न अनिवार्य बनाइएको थियो । अब यो नियम पनि हटाइएको छ ।
यो बंगलादेशले सत्ता परिवर्तनपछि चालेका धेरै कदममध्ये एक हो, जसले बंगलादेशको अन्तरिम सरकार पाकिस्तानसँग नजिक देखिन खोजिरहेको संकेत गर्दछ ।
बंगलादेशले पाकिस्तानसँग गोलाबारूद खरिदका लागि रक्षा सम्झौता पनि गरेको छ । पाँच दशकपछि बंगलादेश र पाकिस्तानबीच समुद्री मार्गको व्यापार पनि सुरु भएको छ ।
पहिलो पटक पाकिस्तानी कार्गो जहाज गत महिना बंगलादेशको चटगाउँ बन्दरगाह पुगेको थियो । यति मात्र होइन, बंगलादेशले पाकिस्तानबाट २५ हजार टन चिनी खरिद गर्ने सम्झौता पनि गरेको छ । अहिलेसम्म बंगलादेशले भारतबाट मात्र चिनी आयात गर्दै आएको थियो ।
सन् १९७१ मा पाकिस्तानबाट अलग भएर बंगलादेश अस्तित्वमा आएपछि दुई देशबीचको ऐतिहासिक तनावलाई मध्यनजर गर्दै यो विकासलाई महत्वपूर्ण कोसेढुङ्गा मानिएको छ । किनभने हसिनाको शासनकालमा बंगलादेशको झुकाव भारततर्फ थियो ।
करिब चार हजार किलोमिटर सीमा जोडिएको भारतले पनि बंगलादेशसँग सम्बन्ध सुदृढ गर्नमा जोड दिँदै आएको छ ।
यसका लागि भारतले बंगलादेशमा ठूलो लगानी पनि गरेको छ । भारतले बंगलादेशलाई एक महत्वपूर्ण रणनीतिक सहयोगी मान्दै आएको छ । यहीकारण पाकिस्तान लामो समयसम्म बंगलादेशबाट टाढा रह्यो ।
तर, अहिले नोबेल शान्ति पुरस्कार विजेता युनुसको नेतृत्वमा रहेको बंगलादेशको अन्तरिम सरकारले यहाँको भूराजनीतिक दृष्टिकोण बदलिरहेको देखिन्छ । भारतमाथिको निर्भरता घटाउने प्रयास भइरहेको छ ।
बंगलादेशले पनि यहि कारणले पाकिस्तानसँग नजिक हुन खोजिरहेको छ । र, उसले अब दक्षिण एसियाको राजनीतिलाई भारतको दृष्टिकोणबाट नहेर्ने सन्देश दिन खोजेको छ ।
तर, विश्लेषकहरू बंगलादेशलाई लामो समयसम्म पाकिस्तानसँग नजिक रहन सजिलो नहुने बताउँछन् । अन्तर्राष्ट्रिय मामिलाका भारतीय विज्ञ स्मृति एस पटनायक भन्छिन्, ‘बंगलादेश पाकिस्तानको नजिक पुगेको देखिन्छ तर, वास्तवमा यो हुन सजिलो छैन । बंगलादेशको आर्थिक हित भारतसँग जोडिएको छ ।’
‘बंगलादेश र पाकिस्तान दुबै स्वतन्त्र राष्ट्र हुन् र व्यापारिक सम्बन्ध निर्माण गर्न सक्छन् । तर, भारतले यसबारे चिन्तित हुनुहुँदैन । भारतको सट्टा पाकिस्तानसँग व्यापार प्रवर्द्धन गर्नु बंगलादेशको आर्थिक हितमा हुनेछैन’, उनको विश्लेषण छ ।
अन्तर्राष्ट्रिय मामिलाका विज्ञ तथा भारतको जवाहरलाल नेहरू विश्वविद्यालयका प्राध्यापक सञ्जय भारद्वाज बंगलादेश अहिले अस्थिरताको अवधिमा रहेको टिप्प्णी गर्छन् । इस्लामिक विचारधारासँग नजिक हुनु त्यहाँको अन्तरिम सरकारको राजनीतिक बाध्यता भएको उनको भनाइ छ ।
‘जब–जब सरकार संकटमा परेको छ वा संवैधानिक संकट उत्पन्न भएको छ, बंगलादेशले पाकिस्तान र इस्लामिक विचारधाराको नजिक देखाउन खोजेको छ’, उनले भने ।
सन् १९७५ मा शेख मुजिबुर रहमानको हत्यापछि अर्को शासनले बंगलादेशलाई इस्लामीकरण गर्ने प्रयास गरेको र त्यसपछि बंगलादेशलाई सैन्य शासनको समयमा पनि इस्लामिकरण गर्ने प्रयास गरिएको थियो ।
हिंसात्मक द्वन्द्वपछि सन् १९७१ मा पाकिस्तानबाट अलग भएर बंगलादेश स्वतन्त्र राष्ट्र बनेको थियो र भारतको तत्कालीन इन्दिरा गान्धी सरकारले बंगलादेशी राष्ट्रवादीहरूलाई सैन्य र राजनीतिक सहयोग प्रदान गरेकी थिइन् ।
बंगलादेशले भारतलाई सन्देश दिने प्रयास पनि पाकिस्तानसँगको सम्बन्धलाई मजबुत बनाउने प्रयास भएको विश्लेषकहरूको विश्वास छ । स्मृति पटनायक भन्छिन्, ‘हसिनाको कार्यकालमा दुई देशबीच घनिष्ठ सम्बन्ध थिएन । तर, त्यस अवधिमा पनि बंगलादेशी कूटनीतिज्ञहरू पाकिस्तानमा थिए । हसिनाको कार्यकालको तुलनामा पाकिस्तानसँग बंगलादेशको सम्बन्धमा पक्कै सुधार भइरहेको छ ।’ पाकिस्तान र बंगलादेश आर्थिक रूपमा नजिक आउन चुनौतीहरू भए पनि वैचारिक, राजनीतिक र सामाजिक रूपमा नजिक आउन सक्ने सम्भावना उनी व्यक्ति गर्छिन् ।
भारतको चिन्ता
जानकारहरूका अनुसार बंगलादेशमा इस्लामिक विचारधारा बलियो हुनु भारतका लागि चिन्ताको विषय हुनसक्छ । तर, यो प्रश्न पनि उठ्छ कि सन् १९७१ को युद्धपछि पाकिस्तानबाट अलग भएको बंगलादेश अब भारतका लागि खतरा बन्ने गरी पाकिस्तानको यति नजिक आउन सक्छ ?
यो सहज नहुने विश्लेषकको विश्वास छ । भारद्वाज भन्छन्, ‘सन् १९४७ मा बंगलादेश पाकिस्तानको हिस्सा थियो तर, पाकिस्तानसँग बस्न सकेन । यसका सांस्कृतिक र भौगोलिक कारणहरू थिए । यस्तो अवस्थामा बंगलादेश र पाकिस्तान नजिक आउन सक्छन् भनेर भन्न सकिन्न ।’ उनले बंगलादेशको ठूलो जनसंख्या बंगाली राष्ट्रवाद, धर्मनिरपेक्षता र समावेशी प्रणालीमा विश्वास गर्दछ र यो विचारधाराले बंगलादेशलाई भारतको नजिक ल्याउन सक्ने उनको तर्क छ ।
तर, बंगलादेश पाकिस्तानको नजिक आउँदा पक्कै पनि भारतका लागि धेरै तहमा चुनौती खडा हुनेछन् । विशेष गरी पूर्वोत्तरसँग बंगलादेशको लामो सीमामा ।
भारतको मुख्य चासो उत्तर–पूर्वमा सुरक्षा र स्थिरताको बारेमा छ । भारतले बंगलादेशसँगको आफ्नो सीमा क्षेत्र अस्थिर नहोस् र सीमा पारबाट सुरक्षा खतरा होस् भन्ने चाहँदैन ।
एकै समयमा, बंगलादेशमा इस्लामिक विचारधारा र कट्टरपन्थी तत्वहरूको सुदृढीकरणले भारतको लागि सुरक्षा चिन्ता पनि सिर्जना गर्न सक्ने विश्लेषकहरूको भनाइ छ ।
प्रतिक्रिया