३५ जनाको मृत्युपछि बंगलादेशमा कर्फ्यु

३५ जनाको मृत्युपछि बंगलादेशमा कर्फ्यु


काठमाण्डु- बंगलादेशमा आरक्षणविरोधी आन्दोलनका क्रममा भड्किएको हिंसालाई नियन्त्रण गर्न सरकारले राष्ट्रव्यापी कर्फ्यु घोषणा गरेको छ ।

आन्दोलन पछि भड्किएको हिंसालाई नियन्त्रण गर्न सरकारले राष्ट्रव्यापी कर्फ्यु घोषणा गरेको हो । आन्दोलनका क्रममा भएको हिंसामा अहिलेसम्म ३५ जनाको मृत्यु भइसकेको छ ।

बंगलादेशमा सन् १९७१ को स्वतन्त्रता सङ्ग्राममा भाग लिने स्वतन्त्रता सेनानीका परिवारलाई सरकारी जागिरमा दिएको आरक्षणको विरोधमा विद्यार्थी र युवाहरूको आन्दोलन गरिरहेका छन् । तर आन्दोलनले अहिले हिंसात्मक रूप लिएको छ ।

राजधानी ढाकालगायत धेरै सहरमा विगत केही दिनदेखि जारी हिंसालाई ध्यानमा राख्दै ठुलो मात्रामा सुरक्षा बल तैनाथ गरिएको छ । प्रहरी र आन्दोलनकारीबिच धेरै ठाउँमा झडप भएको छ ।

शुक्रबार नरसिङदीको कारागारमा आक्रमण गरी सयौँ कैदी रिहा भएपछि सरकारले शनिबारदेखि देशव्यापी कफ्र्यु घोषणा गरेको हो । सरकारका प्रेस सेक्रेटरी नइमुल इस्लाम खानले अब शान्ति सुरक्षा कायम गर्न सेना परिचालन गरिने बताएका छन् ।