को बन्दैछ बङ्ग्लादेशको नयाँ प्रधानमन्त्री ?

को बन्दैछ बङ्ग्लादेशको नयाँ प्रधानमन्त्री ?


काठमाण्डु-बङ्ग्लादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले तत्काल अन्तरिम सरकार गठन हुने र संसद् विघटन हुने बताएका छन् ।

गएराति विभिन्न देशका नेताहरुसँग छलफल पछि राष्ट्रपति शहाबुद्दीनले अन्तरिम सरकारले समयअगावै चुनाव गराउने प्रतिवद्धता गरेका छन् ।

राजनीतिक नेताहरूसँगको छलफलपछि विभेदविरोधी आन्दोलनका पीडितको सम्झनामा शोक प्रस्ताव पारित गरिएको छ । सबै दल र सरोकारवालासँग परामर्श गरेर बनेको अन्तरिम सरकारले जतिसक्दो चाँडो निर्वाचनको व्यवस्था गर्ने राष्ट्रपतिको प्रतिवद्धता छ ।

विभेदविरोधी विद्यार्थी आन्दोलनका पीडित परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचारका लागि सम्पूर्ण सहयोग उपलब्ध गराइने उनको भनाइ थियो । यस्तै विपक्षी दल बीएनपीकी अध्यक्ष खालिदा जियालाई रिहा गर्ने सर्वसम्मत निर्णय भएको छ ।

राष्ट्रपति शहाबुद्दीनले देशभरका सबै कार्यालय र अदालतहरू आजदेखि सामान्य रूपमा सञ्चालन हुने बताएका छन् । यता विद्यार्थी आन्दोलनका संयोजकहरूले नोबेल पुरस्कार विजेता डा. मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकारको खाका बनाएका छन् ।

विद्यार्थी आन्दोलनका संयोजकहरूले नोबेल पुरस्कार विजेता डा. मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकारको प्रस्ताव गरेका छन् ।

विद्यार्थी आन्दोलनका प्रमुख संयोजक नाहिद इस्लाम, आसिफ महमुद र अबु बकर मजुमदारले भिडियो सन्देश मार्फत युनुसको नेतृत्वमा अन्तरिम सरकार बनाउनु पर्ने बताएका हुन् ।

विद्यार्थी आन्दोलनका प्रमुख संयोजक नाहिद इस्लाम, आसिफ महमुद र अबु बकर मजुमदारले एक भिडियो सन्देश जारी गर्दै उक्त जानकारी दिएका हुन् । यसअघि सोमबार राति नाहिदले आगामी २४ घण्टाभित्र अन्तरिम सरकारको खाका तयार पार्ने घोषणा गरेका थिए ।

सेनालाई तोडफोड रोक्न र कानून कार्यान्वयन सुनिश्चित गर्ने जिम्मा दिइएको छ । प्रधानमन्त्री शेख हसिनाले सोमबार दिउँसो देश छोडेपछि बंगलादेशको अवस्था गम्भीर रूपमा बिग्रिएको थियो ।