बंगलादेशमा प्रदर्शनकारीहरूले गरे राष्ट्रपति भवन कब्जा

बंगलादेशमा प्रदर्शनकारीहरूले गरे राष्ट्रपति भवन कब्जा


काठमाण्डु-बंगलादेशमा फेरि एक पटक प्रदर्शन भड्किएको छ । विशाल प्रदर्शन पछि पूर्वप्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेको थियो ।

अहिले फेरि बंलादेशमा प्रदर्शन भएको छ । उनीहरूले राष्ट्रपति मोहम्मद साहाबुद्दिनको राजीनामा माग गर्दै राष्ट्रपति भवन कब्जा गरेका छन् ।

मङ्गलबार प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्ने नेतृत्वको समूह ‘एन्टी–डिस्क्रिमिनेशन स्टुडेन्ट मुभमेन्ट’ले ढाकाको केन्द्रीय शहीद मिनारमा भएको ¥यालीमा राष्ट्रपतिको राजीनामासहित पाँच बुँदे मागको घोषणा गरेको थियो ।

राष्ट्रपति साहाबुद्दिनको राजीनामा माग गर्दै मध्यराति राष्ट्रपति भवन ‘बङ्गभवन’तर्फ अघि बढेका प्रदर्शनकारीहरूलाई सेनाले ब्यारिकेड लगाएर रोकेको थियो ।

उनीहरूले बङ्गभवन बाहिर उभिएर बङ्गलादेशका राष्ट्रपतिको राजीनामा मागको नारा लगाएका छन् । साहाबुद्दिन बङ्गलादेशका १६औँ राष्ट्रपति हुन । उनी सन् २०२३ को राष्ट्रपति चुनावमा अवामी लिगको मनोनयनमा निर्विरोध निर्वाचित भएका थिए ।

भेदभाव विरोधी विद्यार्थी आन्दोलनले सन् १९७२ मा लेखिएको संविधान खारेज गर्न माग गर्दै सन् २०२४ को सन्दर्भमा नयाँ संविधान लेख्न आह्वान गरेको छ ।

प्रदर्शनकारीहरुले सन् २०१८ र २०२४ मा शेख हसिनाको नेतृत्वमा भएको चुनावलाई अवैध घोषणा गर्नुपर्ने र यी चुनावमा विजयी भएका सांसदहरूलाई अयोग्य ठहर गर्नुपर्ने माग गरेका छन् । उनीहरूले जुलाई–अगस्ट विद्रोहको स्फूर्तिलाई ध्यानमा राख्दै गणतन्त्रको घोषणा गर्न आह्वान गरेका छन् ।

सरकारी जागिरका लागि आरक्षण प्रणाली अन्त्य गर्न माग गर्दै जुलाईमा बङ्गलादेशमा विद्यार्थीहरूको नेतृत्वमा भएको विरोध प्रदर्शनले सरकार विरोधी प्रदर्शनको रूप लिएको हो ।

बढ्दो विरोधको पृष्ठभूमिमा शेख हसिनाले ५ अगस्टमा प्रधानमन्त्रीको रूपमा राजीनामा दिएपछि बंगलादेशमा अन्तरिम सरकारको स्थापना भएको हो । हसिनाको राजीनामापछि हाल नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ ।