बङ्गलादेशमा हिंसा चर्किदै

बङ्गलादेशमा हिंसा चर्किदै

मृतकको संख्या १९ पुग्यो, इन्टरनेट सेवा बन्द


काठमाण्डु-आरक्षण विरुद्ध चलिरहेको आन्दोलनका क्रममा बङ्गलादेशका विभिन्न भागमा अहिलेसम्म कम्तीमा १९ जनाको मृत्यु भएको छ । सयौँ मानिस घाइते भएका छन् ।

देशैभर आन्दोलन हिंसात्मक बन्दा धेरै ठाउँमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको बीबीसीले जनाएको छ । आरक्षण विरोधी आन्दोलन चर्किएपछि बङ्गलादेशमा मोबाइल इन्टरनेट नेटवर्क बन्द गरिएको छ । प्रदर्शनकारीले सरकारी जागिरमा आरक्षण खारेज गर्नुपर्ने माग गरेका छन् ।

यसैबीच, प्रदर्शनका क्रममा बङ्गलादेशको राष्ट्रिय च्यानल बीटीभीको कार्यालयमा बिहीबार आगलागी हुँदा धेरै मानिस त्यहाँ फसेका छन् । आगो निभाउन समयमा दमकल पनि नआएको र सुरक्षाकर्मीले पनि आवश्यक सहयोग नगरेको बिटिभीका अध्यक्षले बताएका छन् ।

गएको महिना रिट निवेदनका आधारमा उच्च अदालतले सन् २०१८ मा सरकारी जागिरमा आरक्षण खारेज गर्ने सरकारको सूचनालाई अवैधानिक घोषणा गरेको थियो । अदालतको यो फैसलापछि आरक्षण विरुद्धको आन्दोलन शुरु भएको हो ।

विरोध बढ्दै गएपछि सरकारले यसअघि बङ्गलादेशका सबै विश्वविद्यालय, क्याम्पस र विद्यालयहरू अर्को सूचना नभएसम्मका लागि बन्द गरेको छ ।

यता, बङ्गलादेश सरकारले मोबाइल इन्टरनेट नेटवर्क बन्द गर्न आदेश दिएको छ । आरक्षणको विरोधमा देशभर भइरहेको प्रदर्शन उग्र बन्दै गएपछि सरकारले मोबाइल इन्टरनेट बन्द गराएको हो ।

दूरसञ्चारमन्त्री जुनाइड अहमद पलकेले नागरिकको सुरक्षा सुनिश्चित गर्न मोबाइल इन्टरनेट बन्द गरिएको बताएका छने ।

सन् १९७१ मा बङ्गलादेशको स्वतन्त्रता युद्धमा लडेका सेना र कर्मचारीको परिवारका सदस्यहरूका लागि सरकारी रोजगारीमा आरक्षण छ । ३० प्रतिशत सरकारी रोजगारी आरक्षणमै जाने गरेको छ । तर यो प्रणालीले प्रधानमन्त्री शेख हसिनाका समर्थक र उनको दल अवामी लिगका कार्यकर्तालाई मात्रै फाइदा पुगेको भन्दै आन्दोलन शुरु भएको हो ।

सरकारले मुख्य विपक्षी दलको मुख्यालयमा छापा मार्न प्रहरीलाई आग्रह गरेको छ । प्रधानमन्त्री हसिना निरङ्कुश बनेर आन्दोलनलाई दमन गरेको भन्दै विपक्षी बङ्गलादेश नेशनलिस्ट पार्टीले बङ्गलादेश बन्दको आह्वान गरेको छ । बन्द सफल बनाउन जेसुकै कदम चाल्ने उसको चेतावनी छ ।