बंगलादेशमा चौथो कार्यकालका लागि प्रधानमन्त्री बन्दै शेख हसिना

बंगलादेशमा चौथो कार्यकालका लागि प्रधानमन्त्री बन्दै शेख हसिना


एजेन्सी – बंगलादेशमा आइतबार भएको आमनिर्वाचनमा प्रधानमन्त्री शेख हसिना वाजेदको अवामी लिगले भारी बहुमत ल्याएको छ। उनी नेतृत्वको सत्ताँरुढ अवामी लिगले संसदको आइतबार भएको निर्वाचनमा ३ सय मध्ये २ सय ८१ सिटमा जित हात पारेपछि हसिना चौथो कार्यकालका लागि निर्वाचित भएकी हुन् ।

संसदको ३ सय ५० सिटमध्ये ५० सिटमा भने महिला प्रतिनिधि मनोनित हुने व्यवस्था छ । निर्वाचनमा सत्तारुढ अवामी लिगका तर्फबाट हसिना र प्रतिपक्षी बंगलादेश नेश्नलिष्ट पार्टीबाट पूर्व प्रधानमन्त्री खालिदा जियाले प्रधानमन्त्रीमा उम्मेद्वारी दिएका थिए ।

मुस्लिम धर्मावलम्बी बाहूल्य बंगलादेशमा मुलुकभरका ४० हजार १ सय ९९ मतदान केन्द्रमा १० करोड जना मतदानमा सहभागि भएको बीबीसीले जनाएको छ ।

यसअघि निर्वाचनका क्रममा विभिन्न स्थानमा भएको हिंसाका क्रममा १७ जनाको मृत्यु भएको छ । बिभिन्न स्थानमा आगजनी तथा तोडफोड भएको छ । बंगलादेश सरकारले करिब ६ लाख सुरक्षाकर्मी खटाए पनि हिंसा नियन्त्रणमा असफल भएको पर्यवेक्षकहरुले दावी गरेका छन् ।