६ विद्यार्थीको मृत्यु भएपछि बङ्गलादेशमा अनिश्चितकालका लागि शैक्षिक संस्था बन्द

६ विद्यार्थीको मृत्यु भएपछि बङ्गलादेशमा अनिश्चितकालका लागि शैक्षिक संस्था बन्द


काठमाण्डु-बङ्गलादेशमा भएको झडपमा परी ६ जना विद्यार्थीको मृत्यु भएको छ । सरकारी जागिरमा आरक्षणको व्यवस्थाविरुद्ध भएको प्रदर्शनमा ६ जना विद्यार्थीको मृत्यु भएको बीबीसीले जनाएको छ ।

घटनापछि सरकारले बङ्गलादेशका सबै विद्यालय र विश्वविद्यालय अनिश्चितकालका लागि बन्द गरेको छ ।

बङ्गलादेशमा सरकारी जागिरमा देशको स्वतन्त्रताका लागि लडेकाहरूको छोराछोरीलाई आरक्षण दिइएको छ । तर, आलोचकहरूले आरक्षणको उक्त व्यवस्था बङ्गलादेशकी प्रधानमन्त्री शेख हसीनालाई समर्थन गर्ने समूहका छोरोछारीलाई दिने गरेको आरोप लगाएका छन् ।

बङ्गलादेशमा पछिल्लो केही दिनदेखि सरकारी जागिरमा आरक्षणको उक्त व्यवस्थालाई अन्त्य गर्नुपर्ने भन्दै विरोध प्रदर्शन हुँदै आएको छ ।

सन् १९७१ मा बङ्गलादेश स्वतन्त्रताको लडाई पछि पाकिस्तानसँग छुट्टिएको थियो ।

यसअघि पनि विरोध हुँदा सन् २०१८ मा अदालतले सरकारको उक्त व्यवस्थामा रोक लगाएको थियो । तर, गत महिना मात्रै एक अदालतले फेरि आरक्षणको व्यवस्थालाई लागू गरिदिएको छ ।